
सल्यान । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गरेको खुसी सेलाउन नपाउँदै सल्यानका आयुष खड्काको जीवनयात्रा टुंगिएको छ। बागचौर नगरपालिका–१० पीपलनेटाका आयुषको पहिलो सरकारी पोस्टिङ नै अन्तिम यात्रा बनेको हो।
गत जेठमा खरिदार पदमा नाम निकाल्नुभएका खड्काको पहिलो पोस्टिङ रसुवाको टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा भएको थियो। नयाँ जागिर, नयाँ ठाउँ र नयाँ जिम्मेवारी बोकेर सरकारी सेवामा प्रवेश गर्नुभएका उहाँले काम थालेको केही समयमै भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोमा परी ज्यान गुमाउनुभएको हो।
भदौ १० गते बाढीपछि सम्पर्कविहीन हुनुभएका खड्काको शव चार दिनपछि चितवनमा फेला परेको परिवारले जनाएको छ। भदौ १४ गते परिवारले शव पहिचान गरेपछि उहाँको निधन भएको पुष्टि भएको हो। उहाँको सोमबार चितवनस्थित देवघाटमा अन्तिम संस्कार गरिने काका रमेश खड्काले जानकारी दिनुभयो।
आयुष कृष्ण खड्का र मुना खड्काका एक मात्र सुपुत्र हुनुहुन्थ्यो। छोराले लोकसेवा आयोग उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गरेपछि परिवारमा खुसीको सीमा थिएन। छोराको भविष्य उज्ज्वल हुने आशा र सपना बुन्दै गरेको परिवारले केही महिनामै छोराको शव कुर्नुपर्ला भन्ने कल्पनासमेत गरेको थिएन।
“छोराले लोकसेवा पास गरेपछि अब उसको भविष्य राम्रो हुन्छ भन्ने लागेको थियो। पहिलोपटक जागिर खाएर दुर्गम ठाउँमा गएको थियो। जागिर सुरु गरेको केही समयमै यस्तो खबर सुन्नुपर्ला भनेर कहिल्यै सोचेका थिएनौँ,” उहाँका बुबा कृष्ण खड्काले भन्नुभयो।
लोकसेवा उत्तीर्ण भएको खबरले घरमा उत्साह छाएको केही महिनामै त्यही घरमा शोक छाएको छ। छोराले सरकारी सेवामा राम्रो भविष्य बनाउने विश्वास गरेका बुबाआमाका सपना अहिले छोराको सम्झनामा सीमित भएका छन्।
टिमुरेमा आएको बाढीले प्लान्ट क्वारेन्टाइन कार्यालय रहेको भवनसहित आसपासका क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो। कार्यालयमा कार्यरत कर्मचारी तथा घरबेटीका परिवारका सदस्यसमेत त्यही क्षेत्रमा बस्दै आएका थिए। बाढी र पहिरोपछि कार्यालयमा कार्यरत तीन जना सम्पर्कविहीन भएका थिए।
खड्कासँगै सोही कार्यालयमा कार्यरत अछामका जागेश्वर शर्मा र कार्यालय सहयोगी शिवप्रसाद ढकाल पनि बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ। शर्मा तीन वर्षदेखि हिमाली दुर्गम क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो भने रसुवाका स्थानीय ढकाल लामो समयदेखि सोही कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत हुनुहुन्थ्यो।
तीनै जना एउटै कार्यालयमा कार्यरत हुनुका साथै एउटै ठाउँमा बस्दै र एउटै भान्सामा खाना खाने सहकर्मी रहेको बताइएको छ। कार्यालयको दैनिकीमा सँगै रहने उनीहरूलाई भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोले एकैपटक सम्पर्कविहीन बनाएको थियो।
खड्का भने लोकसेवा आयोग उत्तीर्ण गरी पहिलोपटक सरकारी सेवामा प्रवेश गर्नुभएको थियो। नयाँ जागिरसँगै सुरु भएको नयाँ जीवन, नयाँ ठाउँमा बनाएको नयाँ परिचय र परिवारले देखेको उज्ज्वल भविष्यको सपना धेरै समय टिक्न सकेन।
सरकारी सेवामा प्रवेश गरेको खुसी परिवारले राम्ररी मनाउन नपाउँदै आयुषको जीवनयात्रा टुंगिएको छ।








