जुम्ला । रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका जुम्लाका २८ जना सम्पर्कमा आएका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार उनीहरू विभिन्न माध्यमबाट परिवार तथा आफन्तको सम्पर्कमा आएका हुन्।
प्रमुख जिल्ला अधिकारी तेजप्रकाश पौडेलका अनुसार बाढीपछि जुम्लाका नागरिकको अवस्थाबारे प्रशासनले सम्बन्धित स्थानीय तह र निकायसँग समन्वय गरी विवरण अद्यावधिक गरिरहेको छ। सम्पर्कमा आएका २८ जनामध्ये १७ जनालाई नेपाली सेनाले रसुवाको धुन्चेबाट त्रिशूलीसम्म उद्धार गरेको जनाइएको छ।
यसैबीच, रसुवामा बाढीपछि जुम्लाका ६८ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ। तीमध्ये पातारासी गाउँपालिकाका मात्रै ५१ जना रहेका छन्। उनीहरू त्रिशूली–२१६ मेगावाट आयोजनामा काम गर्ने क्रममा सम्पर्कविहीन भएको आफन्तले बताएका छन्।
प्रशासनले सम्पर्कविहीन नागरिकको खोजी तथा अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।









