२०८३ भदौ २६ , शुक्रबार

रकम तिरे पनि मिटर पाएनन् उपभोक्ताले



दैलेख । भगवतीमाई गाउँपालिकाले ‘दलित उज्यालो कार्यक्रम’अन्तर्गत ४५८ विद्युत् मिटरका लागि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखलाई १४ लाख नौ हजार ५७६ रुपियाँ भुक्तानी गरेको एक वर्ष बित्दा पनि अधिकांश सेवाग्राहीले मिटर पाउन सकेका छैनन्।

गाउँपालिकाले २०८२ असार ३ गते प्राधिकरणको धरौटी खातामा रकम जम्मा गरेको थियो। प्रक्रियागत ढिलाइ, आवश्यक कागजपत्र ढिलो प्राप्त हुनु र मिटर अभावका कारण वितरणमा समस्या भएको प्राधिकरण वितरण केन्द्र दैलेखका प्रमुख इन्जिनियर टङ्कराज गिरीले बताउनुभयो।

उहाँले हालसम्म गाउँपालिकामा एक सय मिटर पठाइएको छ भने वडा नम्बर २ का ३४ जनाले मिटर पाइसकेको बताउनुभयो। आवश्यक कागजपत्र पूरा भएका सेवाग्राहीलाई थप मिटर पठाउने तयारी भइरहेको छ।

गाउँका कतिपय बस्तीमा घरमाथिबाट विद्युत्को तार पुगे पनि मिटर नहुँदा दलित समुदायका घरमा अझै विद्युत् पुगेको छैन। दलित सञ्जालका अध्यक्ष विमल विकले लामो समयदेखि मिटरका लागि आवेदन दिए पनि सेवा नपाएको बताउनुभयो। कतिपय बस्तीमा  पोल भएपनि बत्ती बाल्ने आशामा रहेका स्थानीयको सपना मिटर अभावका कारण अधूरै रहेको हो ।गाउँपालिकाले भने विद्युत् विस्तारको अधुरो काम अघि बढेपछि नियमित विद्युत् सेवा पुग्ने जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार
प्रतिक्रिया