
काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।समूह ‘ए’ अन्तर्गतको खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ ।
प्रतियोगितामा नेपालले सोमबार भएको पहिलो खेलमा बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । आयोजक मलेसियाले पनि पहिलो खेल जित्दै दुई अङ्क जोडेको छ । समान दुई अङ्क भए पनि नेपाल रनरेटका आधारमा समूहको शीर्ष स्थानमा रहेको छ ।
नेपालले समूह चरणको तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग खेल्नेछ भने अन्तिम खेल भदौ २३ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा १० टोली सहभागी छन् । समूह ‘ए’ मा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया तथा समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको उपाधि विजेता टोलीले आगामी वर्ष आयोजना हुने एसिया कप क्रिकेटमा स्थान बनाउनेछ । गत आइतबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल भदौ २७ गते शनिबार हुनेछ ।








