२०८३ भदौ २६ , शुक्रबार

खाजा खर्च कटाएर बाढीपीडितलाई विद्यार्थीको सहयोग



सल्यान । विपद्मा परेकालाई सहयोग गर्ने उद्देश्यले सल्यानका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर उदाहरणीय मानवीय काम गरेका छन् ।

शारदा नगरपालिका–३ बडाखोलास्थित एमएम एकेडेमी प्रालिमा अध्ययनरत चार सयभन्दा बढी विद्यार्थीले खाजा खर्चबाट बचाएको रकम सङ्कलन गरी भोटेकोशी बाढीपीडितका लागि सहयोग गरेका हुन् ।

विद्यार्थीले विद्यालयमै रकम सङ्कलन गर्नुका साथै विद्यालय पोसाकमै खलङ्गा र साहुटोल बजार क्षेत्रमा पुगेर सहयोग जुटाएका थिए । बाल क्लबमा आबद्ध विद्यार्थीको सक्रियतामा साहुटोल बजार क्षेत्रबाट मात्रै २७ हजार ९६५ रुपियाँ सङ्कलन भएको विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार विद्यार्थीबाट २९ हजार १५ रुपियाँ सङ्कलन भएको छ । विद्यालयबाट ३३ हजार ८२० र शिक्षक–कर्मचारीबाट ३८ हजार पाँच रुपियाँ सहयोग थपिएको छ । साहुटोल बजार क्षेत्रबाट सङ्कलित रकमसमेत गरी कुल एक लाख २८ हजार ८०५ रुपियाँ सङ्कलन भएको विद्यालयले जनाएको छ ।

विद्यालय सञ्चालक महेश देवकोटाले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सामाजिक दायित्व भएकाले विद्यालय परिवारले आफ्नो क्षमताअनुसार सहयोग गरेको बताउनुभयो । उहाँले विद्यार्थीको सक्रियताले सानै उमेरदेखि मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।

सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको देवकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार
प्रतिक्रिया