
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित करिब ५ हजार २ सय मिटर उचाइको छुङ्गार लेकबाट कैलाश पर्वतको दूरदर्शन गर्न सकिने भएको छ ।
स्थानीय र आन्तरिक पर्यटकको टोलीले छुङ्गार पुगेर कैलाशको दृश्य अवलोकन गरेपछि यो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा चर्चामा आएको हो । नाम्खा–१ का नाम्ग्याल तामाङसहित सात जनाको टोलीले हालै छुङ्गारबाट कैलाशको दर्शन गरेको जनाएको छ ।
लिमी प्रवेशद्वार न्यालु लेकसम्म गाडीबाट पुग्न सकिन्छ भने त्यहाँबाट करिब साढे दुई घण्टा पैदल उकालो चढेर छुङ्गार पुगिन्छ । छुङ्गारबाट कैलाश देखिए पनि मानसरोवर ताल भने देखिँदैन ।
पर्यटकको सहजताका लागि बाटो, खानेपानी र बासस्थानको व्यवस्था गर्न सके छुङ्गारलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ ।
प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार








