२०८३ भदौ २६ , शुक्रबार

पहिरोको त्रासले रातभर जाग्राम



यामराज बिष्ट
दैलेख,भदौ१९गते । दैलेखको नारायण नगरपालिका–१ स्थित गणेशचोक नजिकै रहेको नमुना बस्तीका बादी परिवार पहिरोको त्रासले रातभर जाग्राम बस्न बाध्य भएका छन्। यही भदौ १७ गते रातिदेखि लगातार भइरहेको अविरल वर्षाका कारण बस्ती आसपासको जमिन चिरा पर्न थालेपछि घरहरू उच्च जोखिममा परेका हुन्।
लगातारको वर्षाका कारण बस्तीमाथि बजारबाट आएको पानीले जमिन चिरिनुका साथै बस्तीमुनिको भागमा खाल्डा पर्न थालेपछि पूरै बस्ती जोखिममा परेको स्थानीय नमुना बस्तीका ५० वर्षीया कैशिला नेपालीले बताउनुभयो। उहाँले हिउँदमा खासै डर नहुने भए पनि वर्षायाम सुरु भएसँगै पहिरोको त्रासले राति निदाउनसमेत नसकिने अवस्था भएको बताउनुभयो ।‘वर्षा हुनासाथ हामी राति सुत्दैनौँ,’ उहाँले भन्नुभयो, ‘कतिखेर बाढी–पहिरो आउँछ र घरजग्गासहित सिंगो बस्ती नै बगाउँछ भन्ने डरले मन आत्तिन्छ।’
बस्तीमाथिबाट आउने वर्षाको पानी व्यवस्थित निकास नहुँदा समस्या थपिएको स्थानीयको गुनासो छ। बजार क्षेत्रबाट आउने पानीसमेत बस्तीमा पस्ने गरेको उनीहरूको भनाइ छ।

नमुना बस्तीकी गीता वादीले वर्षायाम सुरु भएपछि हरेक वर्ष यस्तै समस्या झेल्नुपरेको बताउनुभयो। अघिल्लो साँझ परेको वर्षाका कारण आफ्नो परिवार रातभर जाग्राम बसेको उहाँले बताउनुभयो। उहाँले बस्तीमा जोखिम बढ्दै गएपछि घरमै बस्नसमेत डर लाग्ने अवस्था आएको बताउनुभयो ।‘वर्षा सुरु भएपछि देवी–देउता पुकार्दै घरमा बस्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘बजारको नालीबाट आएको सबै पानी घरभित्र पस्छ।’
लगातार बर्षाका कारण भिरालो जमिनमा निर्माण गरिएका कच्ची घरटहरा जुनसुकै बेला भत्किन सक्ने डर रहेको स्थानीय ममता बादीले बताउनुभयो। वर्षाका कारण आफूले आम्दानीका लागि पालेका बङ्गुरको खोरसमेत क्षति भएको उहाँले जानकारी दिनुभयो।उहाँले तत्काल राहतसँगै बस्तीको दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभएको छ। उहाँले हामीलाई हरेक वर्ष वर्षा लागेपछि यही डर पिरल्ने भएकाले दिगो रूपमा बस्ती व्यवस्थापन गरी सुरक्षित वासस्थानको व्यवस्था गरिदिन आगैह गर्नुभयो ।
बर्सातका कारण घरभित्र पानी पस्न सुरु हुनेबित्तिकै नामुना बस्तीका करिब ४०घरपरिवार रातभरि जाग्राम बस्नुपर्ने बाध्यता रहेको नमुना बस्तका कमला नेपालीले बताउनुभयो । उहाँले बस्तीका घरभित्र एक बित्तासम्म लामो चिरा परेपछि बस्नका लागिसमेत डरमर्दो अवस्था बनेको बताउनुभयो।
जोखिममा रहेका नमुना बस्तीका बादी समुदायलाई भएको क्षतिको आधारमा आवश्यक सहयोग उपलब्ध गराउने दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताउनुभयो। उहाँले नमुना बस्ती अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तहसँग समन्वय पहल गरिने बताउनुभयो।

प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार
प्रतिक्रिया