२०८३ भदौ २६ , शुक्रबार

गोठपाँडा कृषक सहकारीको २०औँ वार्षिक साधारणसभा सम्पन्न



 

दैलेख । गोठपाँडा कृषक सहकारी संस्था लिमिटेड, दैलेखको २०औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।शुक्रबार एक कार्यक्रमका बिच संस्थाको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभालाई सम्बोधन गर्दै दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्रबहादुर थापाले कृषकको उत्पादनलाई बजारीकरण गर्न सहकारी संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले दैलेखमा उत्पादित कृषि वस्तुको पहिचान र बजार विस्तारमा सहकारीले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले कृषकले उत्पादन गरेका वस्तुको उचित मूल्य निर्धारण तथा बजारीकरणमा सहजीकरण गर्न सके कृषकको आर्थिक अवस्था सुधार हुनुका साथै ग्रामीण विकासमा समेत योगदान पुग्ने बताउनुभयो।। सहकारी संस्थाले आर्थिक सुधारसँगै सामाजिक उन्नयनका क्षेत्रमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँले बताउनुभयो।

यस्तै साधारणा सभामा बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष मुना कुमारी थापाले संस्थाले स्थापनाकालदेखि नै कृषक तथा समुदायको आर्थिक विकासमा योगदान गर्दै आएको बताउनुभयो। सहकारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै आगामी दिनमा अगाडि बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

संस्थामा हाल १ हजार २ सय २५ जना शेयर सदस्य रहेका छन्। संस्थाका व्यवस्थापक दिनेश थापाका अनुसार अघिल्लो आर्थिक वर्षमा सहकारीले कुल ५ करोड ८१ लाख १८ हजार ३ सय ३६ रुपैयाँको कारोबार गरेको छ। संकलित बचत परिचालन गरी ६ करोड ७६ लाख १७ हजार २५ रुपैयाँ लगानी गरिएको उहाँले जानकारी दिनुभयो।

त्यस्तै, संस्थाले उक्त आर्थिक वर्षमा २४ लाख ५१ हजार ७ सय ६० रुपैयाँ नाफा कमाएको व्यवस्थापक थापाले बताउनुभयो।

कार्यक्रममा कृषि सहकारी बैंक, नारायण नगरपालिकाका आर्थिक तथा सामाजिक विकास अधिकृत खमबहादुर थापा, नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष कमल शर्मा, नारायण नगरपालिकाका कृषि शाखा प्रमुखलगायतले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

 

 

 

 

 

 

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार
प्रतिक्रिया