
दैलेख। जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ को स्थित रहेको त्यागुने खाल बस्ती पहिरोको उच्च जोखिममा परेको छ ।भदौ १८गते दिउँसो करिब ३ बजे भएको अविरल बर्षाका कारण सडक माथिबाट लगातार पहिरो बग्न थालेपछि बस्ती अहिले जोखिममा परेको हो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–अन्तर्गत बडला–बुढेली सडकखण्ड अन्र्तरगत धनपाया डाडा र त्यागुने बस्ती पहिरो तथा भूक्षयका कारण जोखिममा परेको हो । पहिरोका कारण बडला–बुढेली सडकखण्डसमेत अवरुद्ध भएपछि सवारीसाधन समेत सञ्चालनमा समस्या भएको छ। सडक अवरुद्ध हुँदा बुढापाका, बालबालिका, बिरामी तथा सर्वसाधारणलाई पैदल आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन्।

विपद्का बेला स्थानीय तह, वडा कार्यालय र प्रशासनबीच प्रभावकारी समन्वय आवश्यक भए पनि प्रभावित क्षेत्रमा अपेक्षित रूपमा स्थलगत अनुगमन हुन नसकेको गुनासो स्थानीयवासीको छ। स्थानीय प्रशासनले सम्बन्धित वडा अध्यक्ष र नगरप्रमुखलाई घटनाबारे जानकारी गराउँदै स्थलगत अनुगमन तथा आवश्यक समन्वयका लागि आग्रह गरेको जनाइएको छ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका ६का स्थानीयवासी घिरेन्द्र कुमारशाही अनुसार बस्तीको जोखिमलाई ध्यानमा नराखेर सडक सञ्चालन गर्दा बस्ती जोखीम भएको बताउनुभयो । उहाँले बस्तीलाई क्षति नहुने गरी आवश्यक प्राविधिक अध्ययन गर्नुपर्ने माग गर्नुभयो । उहाँले अव्यवस्थित सडकका कारण तिन घर विस्ताबीत हुनुपरेको बताउनुभयो ।उहाँले जोखिमयुक्त क्षेत्रमा जबर्जस्ती आवतजावत गराउँदा थप दुर्घटना हुन सक्ने भएकाले सुरक्षित वैकल्पिक व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले पहिरो यसरी लगातार गयो भने करिब ४५घर बढी बस्तीमा क्षेति गर्ने बताउनुभयो ।उहाँले पहिरो प्रभावित क्षेत्रको तत्काल स्थलगत अनुगमन, जोखिममा रहेका घरपरिवारको पहिचान, आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण, सडकको प्राविधिक अध्ययन तथा क्षतिको मूल्याङ्कन गर्न स्थानीयवासीले माग गरेका छन्। उहाँले बस्तीमा पहिरो र भूक्षयको जोखिम बढ्दै गएपछि जोखिममा रहेका घरपरिवारको अवस्था पहिचान गरी तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने माग गर्नुभयो ।
यस्तै लगातार वर्षाका कारण अहिले त्यो बस्तीका झण्डै ३०भन्दाबढी घरपरिवार जोखिममा रहेको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६का वडाध्यक्ष बलिराम खड्काले बताउनुभयो । उहाँले सडकका कारण बस्ती जोखिमभएको बताउनुभयो ।उहाँले बाढी, पहिरो र भूक्षयका कारण बस्ती नै जोखिममा परेकाले बस्तीलाई वडाले सक्ने सहयोग गर्ने बताउनुभयो। उहाँले प्रभावित नागरिकको अवस्था बुझेर तत्काल उद्धार, राहत तथा सुरक्षित आवतजावतको व्यवस्था गर्न स्थानीय सरकारको प्राथमिक राखेर काम गरिने बताउनुभयो।
बडला–बुढेली सडकखण्डमा देखिएको समस्या समाधान गरी सुरक्षित रूपमा सडक सञ्चालन गर्ने र बस्तीको दीर्घकालीन जोखिम न्यूनीकरणका लागि आवश्यक योजना बनाउनुपर्ने स्थानीयवासीको माग छ। स्थानीयवासीले जोखिमको स्थलगत अध्ययन गरी सडक सञ्चालनका दीर्घकालीन समाधान खोज्न माग गरेका हुन्।








