२०८३ भदौ २६ , शुक्रबार

स्थानीय उत्पादनले बजार नपाउँदा परम्परागत सीप संकटमा



यामराज बिष्ट
दैलेख । जिल्लामा पछिल्लो समयमा परम्परागत रुपमा निगालोको चोयाबाट निर्माण गरिने नाङ्लाे, सुपो, डोको ,डाला व्यवसाय पेसा संकटमा पर्दै जान थालेको छ । बढ्दो आधुनिकताको प्रभाव बजारीकरणले पुराना सीप र दिमागको आधारमा निर्माण गरिएका परम्परागत प्रविधिका साधन बिस्तारै लोप हुँदै गएको हो।
जिल्लामा बजारीकरण नहुँदा परम्परागत रूपमा पुस्तौँदेखि चल्दै आएको नाङ्लाे, सुपो डोको डालो बुन्ने परम्परागत सीप संकटमा पर्दा जोगाउने चुनौती बनेको छ। कुनै समयमा चार मानादेखि चार पाथीसम्म अन्नमा तीनाङ्लाे, डोका, नाम्ला, सुप्पा, डालालगायतका निगालोबाट बनेका सामग्री बजार नपाउँदा परम्परागत सीप संकटमा पर्न थालेका हुन् ।
जिल्लाको दुल्लु नगरपालिका–१, नाउँलेका कमल दमाईले नाङ्लाे  बनाउन थालेको लामो समय भयो। निगालो ,बाँसबाट तयार गरिने नाङ्लाे बनाउन उहाँलाई एउटा सुपोका लागि करिब दुई दिन लाग्छ। तर मेहनत गरेर उत्पादन गरेको नाग्लेा बजार नपाउँदा उहाँको परम्परागत पेसा संकटमा पर्न थालेको छ।उहाँ दुल्लु नगरपालिकाबाट स्थानीयस्तरमा उत्पादित नाङ्लाे बिक्री गर्न दैलेख सदरमुकामसम्म आउने गर्नुहुन्छ। उहाँले एउटा नाङ्लाे पाँच सयदेखि छ सय रुपियाँसम्ममा बिक्री हुने गरेको बताउनुहुन्छ। उहाँले उत्पादनमा लाग्ने समय र मेहनतको तुलनामा बजार सुनिश्चित नहुँदा आम्दानीबाट परिवारको गुजारा चलाउन कठिन हुँदै गएको बताउनुभयो।
“सुपो बनाउन दुई दिनसम्म लाग्छ। बनाइसकेपछि बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्छ,” दमाईले भन्नुभयो, “स्थानीय उत्पादनको संरक्षण र बजारीकरणमा राज्यले ध्यान दिने हो भने यही सीपबाट रोजगारी र आम्दानी गर्न सकिन्छ।”
उहाँले पछिल्लो समय नाङ्लाे बनाउन आवश्यक पर्ने बाँससमेत सहज रूपमा उपलब्ध हुन छाडेको बताउनुभयो । उहाँले कच्चा पदार्थको अभावसँगै उत्पादित सामग्रीले उचित बजार नपाउँदा परम्परागत सीपलाई निरन्तरता दिन थप चुनौती भएको गुनासो गर्नुभयो।

 

यस्तै दुल्लु नगरपालिका–१ का ५२ वर्षीय रंगबहादुर नेपाली पनि नाङ्लाे उत्पादन गर्दै आउनुभएको छ। उहाँले आफूहरूले उत्पादन गरेका सुपोको बजारीकरण सबैभन्दा ठूलो समस्या बनेको बताउनुहुन्छ। उहाँले बाँस पाउन कठिन हुनु र तयार भएका सामग्री बिक्री गर्न टाढाको बजार पुग्नुपर्ने अवस्थाले पेसाप्रति निराशा बढाएको बताउनुभयो।
“बाँस पाउनै समस्या छ। नाङ्लाे बनाएपछि बिक्री गर्न पनि बजार चाहिन्छ,” नेपालीले भन्नुभयो, “सरकारले कच्चा पदार्थको व्यवस्थापनदेखि बजारीकरणसम्म सहयोग गरे हामीजस्ता सीप भएका मानिसलाई रोजगारीको राम्रो माध्यम बन्न सक्छ।”
गाउँघरमा धान, गहुँलगायत अन्नपात केलाउन तथा निफन्न प्रयोग हुने नाङ्लाे नेपाली समाजको मौलिक हस्तकला र संस्कृतिसँग जोडिएको सामग्री हो। आधुनिक सामग्रीको प्रयोग बढ्दै गए पनि ग्रामीण क्षेत्रमा यसको प्रयोग अझै कायम छ। तर बजार अभाव र कच्चा पदार्थको समस्याका कारण सुपो बनाउने परम्परागत सीप भने संकटमा पर्न थालेको छ।
उत्पादकहरू स्थानीय तह र राज्यले परम्परागत सीप संरक्षणलाई रोजगारीसँग जोड्नुपर्ने माग गर्छन्। सीप भएका व्यक्तिलाई आवश्यक सामग्री उपलब्ध गराउने, उत्पादनका लागि प्रोत्साहन गर्ने र बजारको व्यवस्था गरिदिने हो भने नाङ्लाे निर्माणलाई व्यावसायिक बनाउन सकिने उनीहरूको भनाइ छ।स्थानीय उत्पादनको संरक्षण केवल संस्कृति जोगाउने विषय मात्र नभई ग्रामीण रोजगारी र आयआर्जनसँग पनि जोडिएको छ। पछिल्ला केही वर्षयता कृषिजन्य आयातित सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा कच्चा पदार्थ निगालो अभाव हुँदा यो व्यवसाय लोप हुँदै गएको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार
प्रतिक्रिया