
यामराज बिष्ट
दैलेख। पछिल्लो समय ग्रामीण क्षेत्रमा यातायातको पहुँच विस्तार हुनुका साथै रेमिट्यान्सबाट प्राप्त आम्दानी बढेपछि गाउँ गाउँमा पक्की घर बनाउने लहर चलेको छ । जिल्लामा पक्की तथा टिनले छाएका घर निर्माण हुने क्रम बढ्दै गएपछि परम्परागत ढुङ्गेघर भने पातलिँदै जान थालेका छन् ।
जिल्लाको नारायण नगरपालिका–११ स्थित काँडाका दानबहादुर विष्टको करिब एक सय वर्ष पुरानो घर ढुङ्गाले छाएको छ । बर्सौंअघि हजुरबुवाले निर्माण गरेको उक्त घरमा अहिलेसम्म छाना फेर्नु परेको छैन । ढुङ्गाले छाएको छाना लामो समयसम्म टिक्ने भएकाले विष्टको गाउँमा धेरैले ढुङ्गाको छाना लगाउने गर्थे ।
तर पछिल्लो समय नयाँ बन्ने घरमा ढुङ्गाको साटो जस्तापाताको प्रयोग बढेको छ । आर्थिक रूपमा कम खर्चिलो हुनुका साथै जस्ताको छाना लगाउन सहज हुने भएकाले गाउँमा यसको प्रयोग बढ्दै गएको विष्ट बताउनुहुन्छ । गाउँमा पछिल्लो समयमा आधुनिकता हाबी हुँदा यस्ता पुराना मौलिक घर लोप हुँदै गएको उहाँको भनाइ छ । केही वर्षअघिसम्म गाउँमा ढुङ्गा र खरले छाएका, रातोमाटो र सेतो कमेरोले पोतिएका घर बाक्लै देखिन्थे । अहिले पक्की घर निर्माणको क्रम बढेपछि गाउँका ढुङ्गे घर लोप हुँदै गएको स्थानीय बताउँछन् ।
नारायण नगरपालिका–११ का पूर्वअध्यक्ष टङ्कबहादुर विष्टले सहजताका कारण गाउँमा जस्ताका छाना बढ्दै गएको बताउनुभयो । उहाँले २०र२५ वर्षअगाडिको तुलनामा अहिले घरको बनावट तथा निर्माण गर्ने शैलीमा निकै परिवर्तन आएको बताउनुभयो । उहाँले मौलिकता बोकेका परम्परागत घर बिस्तारै हराउँदै गएको बताउनुभयो । उहाँले रोजगारी तथा अन्य अवसरका लागि मानिस विदेश र सहरबजारतर्फ जान थालेपछि त्यहाँ देखे जस्तै आधुनिक घर गाउँमा पनि बनाउन थालिएको बताउनुभयो । परम्परागत शैलीका घरको तुलनामा आधुनिक शैलीका घर बनाउन सहज भएपछि मौलिकता झल्काउने घरहरू सङ्कटमा परेको उहाँको भनाइ छ ।
ढुङ्गाको छानो लगाउने चलन घटेसँगै स्थानीयस्तरमा रहेका ढुङ्गाका खानीसमेत बन्द हुँदै गएका छन् । गाउँका विभिन्न ठाउँमा ढुङ्गाका खानी भए पनि अहिले ढुङ्गा निकाल्ने काम बन्द जस्तै भएको छ । जिल्लाका धेरै जसो पालिकाले पनि खरका घर विस्थापित गरी जस्तापाताका छानो हाल्ने नीति ल्याएपछि गाउँका मौलिक घर ओझेलमा परेका छन् ।








