
दैलेख। विद्यालयमा अध्ययनरत विद्यार्थीले आफ्नो नियमित खाजा खर्चबाट केही रकम बचत गरी विपद्मा परेका नागरिकका लागि सहयोग गरेका छन् । जिल्लाको दुल्लु नगरपालिका स्थित रहेको विजया माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी बाढीपीडितका लागि सहयोग गरेका हुन्।
रसुवा र भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले संकलन गरेको रु ६ हजार ६ सय ६५ प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।विद्यार्थीहरूले संकलन गरेको रकम प्रधानाध्यापक केशवबहादुर भण्डारीलाई हस्तान्तरण गरेका हुन्। उक्त रकम राहत कोषमा जम्मा गरिएको प्रधानाध्यापक केशवबहादुर भण्डारीले बताउनुभयो । विद्यार्थीले दैनिक खाजाका लागि अभिभावकबाट पाउने रकममध्ये केही रकम छुट्टाएर सहयोग उहाँले बताउनुभयो ।उहाँले सानो सहयोगले विपत्का बेला आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने भावना विद्यार्थीमा विकास गराउन अभियान प्रभावकारी बनेको बताउनुभयो ।
यस्तै बाढीपहिरोबाट प्रभावित परिवारको राहत लागि निजी विद्यालयको छाता संगठन प्याब्सनमार्फत फूलबारी विद्या मन्दिरले १ लाख ४५ हजार रुपैयाँ सहयोग गरेको छ।विद्यालयका संस्थापक शुवास कुमार थापाले विपद्को समयमा निजी क्षेत्रले पनि आफ्नो सामाजिक दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो। सानो रकम भए पनि विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट बचत गरी गरेको सहयोगले मानवीय भावनाप्रति सकारात्मक सन्देश दिएको विद्यालयले जनाएको छ।उहाँले देशलाई संकट पर्दा निजी क्षेत्रको योगदान महत्वपूर्ण भए पनि राज्यले निजी क्षेत्रलाई सधैँ विभेदपूर्ण दृष्टिले हेर्ने गरेको गुनासो गर्नुभयो।








