२०८३ कात्तिक ११ , मंगलबार

फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारी



काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी फागुनमा गर्नेगरी तयारी अघि बढाएको छ। २०७९ वैशाखमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्ने तयारी आयोगले गरेको हो।

निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ मा गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था भएकाले सोहीअनुसार तयारी अघि बढाइएको हो।

आयोगले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा अन्तरजिल्ला मतदानको व्यवस्था गर्नेसम्बन्धी अध्ययनसमेत गरिरहेको जनाएको छ।

निर्वाचन प्रक्रियालाई क्रमशः विद्युतीय प्रणालीतर्फ लैजाने विषयमा पनि आयोगले अध्ययन गरिरहेको छ। प्रविधिको प्रयोगबाट मतदानलाई थप सहज र व्यवस्थित बनाउने उद्देश्यले ई–भोटिङको सम्भावनाबारे अध्ययन भइरहेको आयोगले जनाएको छ।

विदेशमा रहेका नेपाली नागरिकलाई समेत दूतावास तथा नियोगमार्फत विद्युतीय मतदानको व्यवस्था गर्न सकिने विषयमा आयोगले अध्ययन गरिरहेको छ। त्यसका लागि आवश्यक प्रविधि, कानुनी व्यवस्था र स्रोतसाधनको विषयमा थप अध्ययन आवश्यक रहेको आयोगको भनाइ छ।

नेपालको संविधानले स्थानीय तहको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने व्यवस्था गरेको छ। स्थानीय तह निर्वाचन ऐन, २०७३ ले भने कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार
प्रतिक्रिया