
दैलेख ।दैलेखमा प्रहरीले बेवारिसे अवस्थामा छ थान बन्दुक बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले महाबु गाउँपालिका–५स्थित गोर्ती सामुदायिक वन क्षेत्रबाट बेवारिसे अवस्थामा रहेका ६थान भरुवा बन्दुक बरामद गरेको हो।
प्रहरीका अनुसार गोर्ती सामुदायिक वन क्षेत्रमा ३थान उक्त स्थानबाट करिब तीन किलोमिटर टाढा आरन टोलको जंगल नजिक झाडीमा तीन थान बन्दुक फेला परेका हुन्। जंगलमा लुकाइछिपाइ राखिएको तथा बेवारिसे अवस्थामा रहेका भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।
बेवारिसे अवस्थामा रहेका बन्दुक फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुस्षराज रोकायले बताउनुभयो। उहाँका अनुसार जिल्लामा साउन महिनामा एक थान भदौ महिना चार थान भरुवा बन्दुक बरामद गरिएको छ ।
“जंगलमा बेवारिसे अवस्थामा रहेका एकनाले भरुवा बन्दुक फेला परेपछि बरामद गरेका छौँ। बन्दुक कसले र किन त्यहाँ राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ,” सूचना अधिकारी रोकायले भन्नुभयो।
प्रहरीले बरामद भएका छ थान बन्दुक जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। जिल्लाका विभिन्न स्थानमा अझै पनि धेरै भरुवा बन्दुक रहेको आशङ्कामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।








