
दैलेख । मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि त्यसअनुसार नागरिकको दैनिक जीवनमा अपेक्षित परिवर्तन आउन नसकेको दैलेखका सरोकारवालाले बताएका छन् । संविधान दिवसमको अवसरमा दैलेखमा आयोजना गरिएको कार्यक्रममा नेपालको संविधान २०७२ जारी भएपछि संविधानले नागरिकका मौलिक हक सुनिश्चित गरे पनि शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा संविधानको मर्मअनुसार काम हुन नसकेको उनीहरूको भनाइ छ ।
नारायण नगरपालिका -६का स्थानीय गणेशबहादुर शाहीले संविधानको शक्ति संविधानका अक्षरमा मात्र सीमित नभई नागरिकको दैनिक जीवनमा देखिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तह र प्रदेश सरकारको व्यवस्था गर्ने संविधान जारी भएको एक दशक पूरा भएपनि नागरिक सामान्य उपचारका लागि समेत ठूला सहर तथा जिल्ला बाहिर जानुपर्ने बाध्यता अझै कायमै भएको गुनासो गर्नुभयो । पहाडी क्षेत्रका नागरिकले समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुन नसकेको उहाँले बताउनुभयो ।“राजनीतिक व्यवस्था परिवर्तनपछि नागरिकले आफ्नो जीवन व्यवहारमा पनि परिवर्तन आएको अनुभूति गर्न सक्नुपथ्र्यो,” उहाँले भन्नुभयो, “तर संविधानमा व्यवस्था गरिएका अधिकार व्यवहारमा पूर्णरूपमा कार्यान्वयन हुन नसक्दा अपेक्षित परिवर्तन देखिएन।”रोजगारीका पर्याप्त अवसर सिर्जना हुन नसकेको, शिक्षा व्यवहारिक र समाजको आवश्यकताअनुकूल हुन नसकेको तथा स्वास्थ्य क्षेत्रको अवस्था अझै कमजोर रहेको उहाँले बताउनुभयो ।
संविधानमा उल्लेख भएका अधिकार र व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने गैरसरकारी संस्था महासङ्घका अध्यक्ष डिलकुमारी चन्दले बताउनुभयो । उहाँले संविधानले दिएको अधिकार नागरिकले व्यवहारमै अनुभूति गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।

यस्तै दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्रबहादुर थापाले संविधान दिवस औपचारिकतामा मात्र सीमित हुन नहुने बताउनुभयो । उहाँले राज्यको आर्थिक विकासमा निजी क्षेत्रले महत्वपूर्ण सहयोग गर्दै आएको भन्दै निजी क्षेत्रका समस्या समाधानमा राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले संविधानसभा दिवस महत्वपूर्ण दिन भएको बताउनुभयो । उहाँले रसुवामा भएको घटनाका कारण जिल्लामा अपेक्षाअनुसार तयारी गर्न नसकिएको बताउनुभयो । उहाँले नेपालको संविधान विश्वका अग्रगामी संविधानमध्ये एक रहेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षबाट आवाज उठाउनुपर्ने बताउनुभयो ।
संविधान आफैंमा अन्तिम गन्तव्य नभई न्यायपूर्ण, समावेशी र समृद्ध समाज निर्माण गर्ने आधार भएको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले बताउनुभयो ।उहाँले सरकारले संविधान जारी भएको दिवस मनाइरहँदा यसको सुन्दर पक्ष भनी दाबी गरिएको मौलिक हक जनताले उपभोग गर्न पाएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख केशबबहादुर शाहीले ले लोकतान्त्रिक तथा संवैधानिक मुलुकको प्रमुख शक्ति राजनीतिक दल भएको बताउनुभयो ।उहाँले यो सविधानले गणतन्त्र, सघियता, धर्म निरपक्षता, समावेशिता, समानुपातिकता, सहभागिता सवै कुरा समेटेकोले सवैले कार्यन्वयन गर्नु गर्नुपर्ने बताउनुभयो ।








