२०८३ कात्तिक ११ , मंगलबार

रारामा पर्यटक बढे, सडक पूर्वाधार अझै चुनौती



 

मुगु । मुगुको राराताल घुम्न आउने पर्यटकको सङ्ख्या पछिल्लो वर्ष बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म २४ हजार ९३१ पर्यटकले रारा भ्रमण गरेका छन् ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका अनुसार भ्रमण गर्नेमा २४ हजार ६०४ जना नेपाली, १२६ जना सार्क मुलुकका र २०१ जना अन्य विदेशी पर्यटक छन् । अघिल्लो आर्थिक वर्षमा रारा भ्रमण गर्ने पर्यटकको सङ्ख्या २० हजार १९१ थियो ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका वन संरक्षण अधिकृत विष्णुबाबु श्रेष्ठले अघिल्लो वर्षको तुलनामा पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । उहाँका अनुसार पर्यटकबाट प्रवेश शुल्क, डुङ्गा सञ्चालनलगायतका शीर्षकमा निकुञ्जले गत आवमा ८७ लाख नौ हजार ३६६ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

पर्यटकको आगमन बढे पनि रारा पुग्ने सडकको अवस्था भने मुख्य चुनौतीका रूपमा रहेको छ । गण्डकी प्रदेशबाट रारा भ्रमणमा आउनुभएका सरोज भण्डारीले सडक स्तरोन्नति नहुँदा वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण पर्यटकले सास्ती खेप्नुपरेको बताउनुभयो ।

उहाँले रारा आउने पर्यटक तथा विद्यार्थीलाई यहाँको प्राकृतिक र जैविक विविधताबारे जानकारी गराउन व्यवस्थित सङ्ग्रहालय आवश्यक रहेको बताउनुभयो ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार नेपाली पर्यटकका लागि प्रतिव्यक्ति एक सय, सार्क मुलुकका पर्यटकका लागि एक हजार पाँच सय र अन्य विदेशी पर्यटकका लागि तीन हजार रुपियाँ प्रवेश शुल्क तोकिएको छ । रारामा डुङ्गा चढ्न प्रतिव्यक्ति पाँच सय रुपियाँ शुल्क लाग्ने व्यवस्था छ ।

चैत, वैशाख तथा असोज–कात्तिकलाई रारा भ्रमणका लागि उपयुक्त समय मानिन्छ । १०।८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको राराताल मुगु र जुम्लाको सीमावर्ती क्षेत्रमा अवस्थित छ । प्राकृतिक सौन्दर्य, हिमाली जनजीवन र जैविक विविधताका कारण रारा पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार
प्रतिक्रिया