
दैलेख ।जिल्लामा विपद् जोखिम घटाउन पूर्वतयारी र प्रतिकार्य गर्न सम्भावित विपद्का घटनालाई मध्यनजर गर्दै जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र(डीईओसी)मा रहेका विपद् व्यवस्थापन सामग्रीको परीक्षण गरिएको छ।जिल्लामा सुरक्षा निकायका तालिमप्राप्त जनशक्तिले उद्धार सामग्री तयारी अवस्थामा राख्ने, सूचना प्रणालीलाई चुस्त बनाउने उदेश्यले विपद् जोखिम घटाउन पूर्वतयारी गरिएको हो ।
केन्द्रले मौज्दात खोज तथा उद्धार सामग्रीको अवस्था परीक्षण गरी आवश्यक परेको अवस्थामा तत्काल प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राखेको हो । जिल्लामा विपद्का बेला खोज, उद्धार तथा राहत कार्यमा आवश्यक पर्ने सामग्रीको अवस्था जाँच गरी तयारी अवस्थामा राखिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।
सम्भावित विपद्लाई लक्षित गर्दै उच्च सतर्कतासहित आवश्यक तयारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताउनुभयो। उहाँले जिल्लामा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, सामग्री तथा प्राविधिक सहयोगको परिचालन सम्बन्धित तहका संग समन्वयात्मक भईरहेको बताउनुभयो ।सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन तथा आवश्यक तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।
मनसुनका कारण विभिन्न स्थानमा वर्षा भइरहेकाले बाढी, पहिरो लगायत मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राखी प्रतिकार्यका लागि आवश्यक तयारी र समन्वयलाई तीव्र बनाइएको जनाइएको छ।








