
दैलेख। वर्षाका कारण बाढी, पहिरो लगायत विपद्जन्य अवस्था सिर्जना हुनसक्ने भन्दै नारायण नगरापालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विपत संवेदनशील सामाजिक सुरक्षा सुदृढीकरण सम्बन्धी एकदिने कार्यक्रम नगरपालिकाले असोज ९ देखि ११ गतेसम्म भारी तथा अतिभारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै नगरवासीलाई सतर्क रहन आग्रह गरेको हो ।
कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले वर्षासँगै बाढीको उच्च जोखिम रहेका नगरपालिकाका जोखिममा रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र आकस्मिक योजनालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। विपद्का बेला हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि कागजी योजनाभन्दा व्यावहारिक कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो।
“विपद् कुन बेला आउँछ भन्न सकिँदैन, त्यसैले पूर्वसूचना प्रणाली, द्रुत प्रतिकार्य टोली र आपत्कालीन राहत कोष तयारी अवस्थामा राख्नुपर्छ,” नगरप्रमुख शर्माले भन्नुभयो। उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी विपद् संवेदनशील योजना कार्यान्वयन गरिने बताउनुभयो।
यस्तै नगरपालिकाका विपद् शाखा प्रमुख नेत्र बस्नेतले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था तथा आपत्कालीन कार्य सञ्चालन केन्द्रमार्फत योजनाबद्ध काम भइरहेको जानकारी दिनुभयो।
विपद्को समयमा सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिने तथा सामाजिक सुरक्षा प्रणालीमा रहेका तथ्याङ्क र संयन्त्रलाई विपद् व्यवस्थापनमा प्रभावकारी रूपमा प्रयोग गर्ने विषयमा समेत छलफल भएको थियो।
सोहीअन्तर्गत नगरपालिकाले पहिरो बाढीको जोखिम रहेका दैलेख सदरमुकाम रहका नमुना बस्ती, लोहोरे खोलाका बस्ती लगायत अनय जोखिममा रहेका बस्तीलाई सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ।यसैगरी जिल्लाका अन्य स्थानिय तहले पनि पहिरो बाढीको जोखिम रहेका बस्तीलाई सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ।








