
काठमाडौं ।आज कर्णाली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने जनाइएको छ। अन्य क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबार बेलुकीदेखि देशका अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। आज र भोलि वर्षा पश्चिमी क्षेत्रमा केन्द्रित हुने तथा सोमबारदेखि वर्षा क्रमशः कम हुँदै जाने महाशाखाले जनाएको छ।
मौसमविद्ले आज लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। हिमाली क्षेत्रमा निरन्तर हिमपात भइरहेकाले जनजीवनसमेत प्रभावित भएको छ।








