
दैलेख। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दैलेखका ११ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनबाट जिल्लाका ११ वटै पालिकामा सभापति निर्वाचित हुनुभएको छ भने ठाँटीकाँध गाउँपालिकामा दुई उम्मेदवारले बराबर मत पाएपछि सभापति चयन हुन बाँकी रहेको छ।
कांग्रेस दैलेखका अनुसार क्षेत्र नं १ अन्तर्गत नारायण नगरपालिकाको सभापतिमा पूर्णबहादुर मल्ल, गुराँस गाउँपालिकामा बमबहादुर शाही, डुङ्गेश्वर गाउँपालिकामा गंगबहादुर खत्री, महावु गाउँपालिकामा कर्णबहादुर शाही, नौमुले गाउँपालिकामा रुपेश थापामगर र भगवतीमाई गाउँपालिकामा रविन्द्र खड्का निर्वाचित हुनुभएको छ।
यस्तै, क्षेत्र नं २ अन्तर्गत दुल्लु नगरपालिकाको सभापतिमा दिपेन्द्र पुरी, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा जोगिराम शाही, आठबिस नगरपालिकामा मुक्ति उपाध्याय र भैरवी गाउँपालिकामा उपेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ।
ठाँटीकाँध गाउँपालिकामा भने भूपेन्द्र शाही र रविन्द्रबहादुर थापाले बराबर मत प्राप्त गर्नुभएको छ। बराबर मत आएपछि सभापति चयन हुन नसकेको निर्वाचन अधिकृत प्रकाशबाबु ऐडीले बताउनुभयो। उहाँका अनुसार दुवै उम्मेदवारबीच सहमति जुट्न नसकेपछि सभापति चयनका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ।








