
यामराज बिष्ट
दैलेख।घरको आँगनमा छोरा फर्किएर आउला भन्ने आशामा ५२ वर्षीय गगनसरी विष्टका दिन बितिरहेका छन् । छोराको बाटो हेर्न थालेको लामो समय भयो । छोरा सम्पर्कमा नआउँदा बिहान उठेदेखि साँझसम्म उहाँको मनमा एउटै प्रश्न गुन्जी रहन्छ, “मेरो छोरा प्रकाश कहाँ छ रु”
दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ स्थित लाँकुरी मुखिया टोलका २७ वर्षीय प्रकाश विष्ट करिब १० महिनादेखि परिवारको सम्पर्कमा हुनुहन्न । रोजगारीका लागि नेपालबाट टर्की, फ्रान्स हुँदै रसिया पुगेका प्रकाश सम्पर्कविहीन छन् । छोराको पर्खाइमा रहेकी गगनसरीका महिनौँदिन आशा र चिन्तामा बितेका छन् ।
घरको जेठो छोरा जिम्मेवारी समाल्न विदेश गएसँगै परिवारमा दुःखका दिनको अन्त्य भए भन्ने उहाँको विश्वास थियो । त्यही छोरा कहाँ छ, कस्तो अवस्थामा छ भन्ने कुनै जानकारी नहुँदा अहिले उहाँको चिन्ता बढेको छ । “बुढेसकालको सहारा छोराको कुनै खबर छैन । घरको ढोकातिर आँखा पुग्दा छोरा फर्किएर आउँछ कि भन्ने आशा जाग्छ तर प्रत्येक दिन निराशामै बित्छ, छोरा जहाँ भए पनि सकुशल होस्, एक पटक मात्रै उसको आवाज सुन्न पाए पनि मन शान्त हुन्थ्यो,” उहाँले भन्नुभयो ।
परिवारका अनुसार प्रकाश २०८२ साल पुसदेखि सम्पर्कविहीन छन् । सुरुमा केही समय सम्पर्क होला भन्ने आशामा थिए परिवार तर लामो समय बितिसक्दासमेत कुनै खबर नआएपछि चिन्ता झनै बढेको छ । प्रकाश विदेश जानुअघि परिवारसँग नियमित सम्पर्कमा हुनुहुन्थ्यो । विदेश पुगेपछि पनि केही समय परिवारसँग कुराकानी हुने गर्थ्यो । अचानक रसिया पुगेपछि सम्पर्क टुट्यो । फोन नलाग्ने र कुनै माध्यमबाट पनि उहाँको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ ।
छोराको खोजीका लागि परिवारले सम्बन्धित सरकारी निकाय, विदेशमा रहेका नेपाली समुदाय तथा प्रकाशलाई चिनेका व्यक्तिसँग सहयोगको आग्रह गरेको छ । यस्तै प्रकाशका जेठाबुबाका छोरा टङ्कबहादुर विष्टले भाइ घर फर्किने आशा नमरेको बताउनुभयो । १० महिना बितिसक्दा पनि भाइको अवस्थाबारे कुनै खबर नपाएपछि सरकारसँग सहयोग माग्न उहाँ काठमाडौँ पुगेका छन् । सरकारले बेपत्ता भाइको वास्तविक अवस्था सार्वजनिक नगर्दा परिवारको पीडा थपिएको उहाँले बताउनुभयो । भाइको खोजीका लागि दसैँपछि आफैँ रसिया पुग्ने तयारी रहेको उहाँले बताउनुभयो ।








