
हुम्ला । लगातारको वर्षाका कारण हुम्लामा उत्पादन भएको स्याउको गुणस्तर र स्वादमा असर पर्ने भन्दै किसान चिन्तित भएका छन् । स्याउ टिप्ने समय नजिकिँदै गर्दा तीन दिनदेखि लगातार वर्षा भएपछि बोटमा रहेका स्याउमा मिठास कम हुने चिन्ता बढेको हो ।
सिमकोट गाउँपालिका–५ का किसान मानविर रोकायाले यस वर्ष करिब ६० बोटमा एक हजार किलोग्रामभन्दा बढी स्याउ उत्पादन भएको बताउनुभयो । दुई हजार ९४५ मिटर उचाइमा उत्पादन भएको स्याउ टिप्न अझै समय बाँकी रहेकाले लगातारको वर्षाले स्वादमा असर पर्ने हो कि भन्ने चिन्ता लागेको उहाँले बताउनुभयो ।
कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुडामणि पन्तले लामो समयसम्म वर्षा हुँदा स्याउको स्वादमा कमी आउन सक्ने बताउनुभयो । हुम्लाको स्याउ गुणस्तरीय मानिए पनि लगातार वर्षा हुँदा बोटमा रहेका स्याउको गुणस्तरमा असर पर्न सक्ने उहाँले बताउनुभयो ।
उच्च भूभागमा रहेका खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका स्याउ अझै पाकिनसकेकाले असोज १५ गतेपछि टिप्ने तयारी गरिएको छ ।
यसैबीच, वर्षा र पहिरोका कारण सडक अवरुद्ध हुँदा नाम्खा गाउँपालिका–१ हेक्पा खोलाबाट टिपेर नेपालगञ्ज लैजानुपर्ने करिब सात टन स्याउ सिमकोटमै रोकिएको छ । प्रमुख पन्तका अनुसार लामो समयसम्म भण्डारण तथा ढुवानी हुन नसके स्याउमा थप क्षति हुन सक्ने जोखिम छ ।








