२०८३ कात्तिक ११ , मंगलबार

लोप हुँदै थकाई मेटाउने चौतारी



यामराज बिष्ट
दैलेख। कुनै समय दैलेखका ग्रामीण बस्तीबाट नेपालगन्ज हाट जानु सामान्य यात्रा थिएन । जिल्लाका ग्रामीण बस्तीमा न सडक थियो, न त सवारीसाधन । दैलेख जिल्लाका विभिन्न ठाउँबाट पैदल हिँडेरै नेपालगन्जसम्म पुग्नु पथ्र्यो ।

गाउँले मिलेर पैदल हिँडेर बाटोमा बास बस्दै आफैँ खाना पकाएर खानुपर्ने भएकाले यात्रा निकै लामो र कठिन हुन्थ्यो । त्यही यात्राका क्रममा बाटो हिँड्दा थकान मेटाउने ठाउँ हुन्थे चौतारी । पहिले अहिले जस्तो यातायातका साधन नहुँदा लामो बाटो हिँड्नुपर्ने बटुवाको थकान मेटाउने, कुराकानी गर्ने ठाउँ पनि चौतारी हुन्थे ।

पछिल्लो समयमा विकासका नाममा बाटो खन्ने होडबाजी सुरु भएपछि थकाइ मेटाउने चौतारी नाश हुँदै गएका छन् । जिल्लाको नारायण नगरपालिका–११ का ७१ वर्षीय विष्णुप्रसाद अधिकारीका सम्झनामा विगतका त्यही दिन अहिले पनि ती दिन ताजै छन् । दैलेख जिल्लाबाट नेपालगन्ज हाट जान र फर्किन करिब २४ दिनसम्म लाग्थ्यो । उहाँले यात्रामा आवश्यक चामल, दाल, पिठोलगायत खाद्यान्न बोकेर हिँड्नुपर्ने बाध्यता भएको उहाँ बताउनुहुन्छ । उहाँले बाटोमा दाउरा खोजेर खाना पकाउने र चौतारीमा बसेर थकाइ मेटाउँदै नेपालगन्ज पुग्ने गरेको बताउनुभयो ।

उहाँले भन्न्नुभयो, “हामी गाउँभरिका करिब ६० जना दाजुभाइ मिलेर हाट जान्थ्यौँ । बाटोमा दाउरा खोजेर खाना पकाउँथ्यौँ । चौतारी भेटिएपछि केहीबेर बसेर थकाइ मेटाउँथ्यौँ ।”

त्यसबेला दैलेखबाट नेपालगन्ज जाने पैदल बाटोमा थकाइ मेटाउने र विश्राम गर्ने थुप्रै चौतारी थिए तर पुर्खाले बनाएको चौतारी पछिल्लो समयमा मासिँदै जान थालेकोे उहाँले गुनासो गर्नुभयो । उहाँले काँडागाउँ हुँदै जुफिया हुँदै चुप्राबजार, भगारा, सातसल्लीलगायत ठाउँमा चौतारीमा विश्राम गर्ने गरेको बताउनुभयो । सुर्खेतको लादे हुँदै नेपालगन्जको हात्तीसारसम्म पुग्दा पनि बाटोमा त्यतिबेला चौतारी भेटिने गरेको उहाँले बताउनुभयो ।

चौतारी केवल थकाइ मेटाउने स्थान मात्र थिएनन् । ती बटुवाका लागि भेटघाट, भलाकुसारी र सूचना आदानप्रदान गर्ने ठाउँ पनि थिए । लामो यात्रामा हिँडेका मानिस केही समय चौतारीमा बसेर आराम गर्थे । गाउँघरका सुखदुःखका कुरा साट्थे तर पछिल्लो समय गाउँ गाउँमा सडक पुगेपछि पैदलयात्रा घटेको छ । सवारीसाधनको पहुँच बढेसँगै पुराना पैदल बाटो सुनसान हुँदै गएका छन् । त्यससँगै यात्रुको थकाइ मेटाउने चौतारी पनि बिस्तारै हराउँदै गएका छन् ।

दुल्लु नगरपालिका–१३, मालिकाका स्थानीय भद्रबहादुर शाहीले पनि चौतारीसँग जोडिएका पुराना सम्झना सुनाउनुहुन्छ । उहाँका अनुसार पहिले हाट जान गाउँका मानिस समूह बनाएर हिँड्ने गर्थे । उहाँले लामो यात्राका क्रममा बाटोमा भेटिने चौतारी उनीहरूका लागि विश्राम गर्ने मुख्य ठाउँ हुने गरेको बताउनुभयो । उहाँले सरकारले पुराना चौतारी संरक्षण गर्नुपर्ने बताउनुहुन्छ । जिल्लामा सडक विस्तारसँगै चौतारीको प्रयोग घटेपछि कतिपय चौतारी जीर्ण बनेका छन् भने कतिपयको अस्तित्व नै हराइसकेको छ । पुराना पैदल बाटोसँगै जोडिएका यी चौतारी मासिँदै जान थालेका छन् ।

लोप हुन लागेकाले त्यस्ता चौतारी संरक्षण गर्न स्थानीय सरकारले पहल गर्ने नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले बताउनुभयो । उहाँले पुर्खाले बाटो हिँड्दा थकान मेटाउने, गाउँबेँसी गर्दा भारी बिसाउने चौतारी संरक्षणका लागि अभियान सुरु गरिने जनाउनुभयो । उहाँले वडामार्फत त्यस्ता चौतारी संरक्षण पहल गरेको जिकिर गर्नुभयो ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहीबार
प्रतिक्रिया