२०८३ कात्तिक ११ , मंगलबार

राष्ट्रसेवक सहकारीको १७औँ साधारणसभा तथा छैटौँ अधिवेशन



 

 

 


दैलेख । राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नारायण नगरपालिका दैलेखको १७औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ ।
‘उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता’ भन्ने मूल नाराका साथ आइतबार जिल्ला समन्वय समितिको सभाहल दैलेखमा सभा तथा अधिवेशन आयोजना गरिएको हो ।
साधारणसभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, संस्थागत विकास तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको छ । सभाले सहकारीको प्रगति समीक्षा गर्दै सदस्यको हित, आर्थिक पारदर्शिता र संस्थागत सुशासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष लालबहादुर खड्काले सहकारीलाई सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरणको माध्यमका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीको दिगोपनका लागि सदस्यको विश्वास, नियमित बचत, जिम्मेवार ऋण लगानी र पारदर्शी व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले सहकारी संस्थाहरूले स्थानीयस्तरमा आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सहकारीको मूल्यमान्यता र सिद्धान्तअनुसार सञ्चालन हुन सके मात्रै सदस्य तथा समुदायको विश्वास कायम रहने धारणा व्यक्त गर्नुभयो ।
नगरप्रमुख शर्माले सहकारीमा आर्थिक अनुशासन, पारदर्शिता र सुशासनलाई विशेष प्राथमिकता दिनुपर्ने बताउँदै सदस्यहरूको बचत सुरक्षित राख्ने र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

साधारणसभामा सहकारी संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न बचत परिचालन, ऋण लगानी र सहकारीका मूल्यमान्यताअनुसारका गतिविधिलाई प्रभावकारी बनाउनुपर्ने विषयमा समेत छलफल भएको थियो ।
सभासँगै सम्पन्न छैटौँ अधिवेशनले संस्थाको आगामी नेतृत्व तथा कार्यदिशाका विषयमा छलफल गरेको छ । सहकारीको संस्थागत विकास, सदस्यको हित संरक्षण र आर्थिक कारोबारलाई थप व्यवस्थित बनाउने विषयलाई आगामी कार्ययोजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

 

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार
प्रतिक्रिया