२०८३ कात्तिक ११ , मंगलबार

हराउँदै मकैका सुली



यामराज बिष्ट
दैलेख। दैलेख जिल्लाका ग्रामीण क्षेत्रमा कुनै समय घरघरमा देखिने मकैको सुली पछिल्लो समय भने विरलै देखिन थालेको छ । जिल्लामा आधुनिक भण्डारणका विभिन्न उपायको प्रयोग बढ्दै गएपछि मकैलाई परम्परागत शैलीमा सुली बनाएर राख्ने चलन क्रमशः हराउँदै गएको हो ।
तर दैलेखको दुल्लू ,भगवतीमाई, गाँउपालिका, नौमूले गाँउपालिका,नारायण नगरपालिका–११ मा भने केही किसानले अझै पनि मकैलाई परम्परागत शैलीमै सुली बनाएर सुरक्षित राख्दै आएका छन् । मकैबारीबाट भित्र्याएको मकैलाई राम्रोसँग सुकाएर घरनजिकै वा सुरक्षित स्थानमा सुली बनाएर राख्ने गरिन्छ । यसरी राखिएको मकै आवश्यकताअनुसार झिकेर घरायसी प्रयोजन तथा पशुचौपायाका लागि प्रयोग गर्ने गरिएको किासनले बताएकका छन्।
पहिले गाउँका अधिकांश घरमा मकैको सुली देखिन्थ्यो । पछिल्लो समय मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै यस्तो चलन कम हुँदै गएको नारायण नगरपालिका–११ की निर्मला कुमारी बिष्टले बताउनुभयो । उहाँले घुन, पतलीले नखाओस् नकुहियोस भनी यसरी मकैो सुली बनाएर राखिने गरेको बताउनुभयो । आधुनिक प्रविधिको प्रयोग बढिरहेका बेला यस्ता परम्परागत कृषि अभ्यासको संरक्षण र अभिलेखीकरण आवश्यक रहेको उहाँको भनाइ छ ।
“पहिले मकै भित्र्याएपछि सुकाएर सुली बनाएर राख्ने चलन सबैजसो घरमा थियो । अहिले धेरैले अन्य तरिकाले भण्डारण गर्न थालेका छन् । घरमै यसरी मकै राख्दा आवश्यक पर्दा सजिलै निकालेर प्रयोग गर्न सकिन्छ,” किसान बिष्टले भन्नुभयो ।
यस्तै स्थानीय किसान कृष्णबहादुर बिष्ट पनि मकैको सुली बनाउने परम्परा गाउँको कृषि संस्कृतिसँग जोडिएको बताउनुहुन्छ । उहाँले मकैलाई राम्रोसँग सुकाएर राख्दा लामो समयसम्म सुरक्षित राख्न सकिने बताउनुभयो । उहाँले पुखौ देखि मकैलाई घुन, पुतली र किराबाट जोगाउन सुलीमा भण्डारण गरिने चलन भएपनि घरमा परम्परागत शैलीमा राखिएको मकैको सुली जान्छ की भन्ने चिन्ता बढेको बताउनुभयो ।
“यो हाम्रो पुरानो चलन हो । मकै सुकाएर सुली बनाएर राख्दा घरमै सुरक्षित हुन्छ । अहिले नयाँ पुस्ताले यस्तो तरिका कम अपनाउन थालेकाले यो परम्परा विस्तारै हराउँदै गएको छ,”उहाँले भन्नुभयो ।
जिल्लामा स्थानीय किसानका मकै दैलेखका ग्रामीण क्षेत्रमा खाद्यान्नका साथै पशुचौपायाको दानाका रूपमा समेत प्रयोग हुँदै आएको छन् । त्यसैले वर्षभरिका लागि आवश्यक पर्ने मकैलाई सुरक्षित राख्नु किसानका लागि महत्वपूर्ण मानिन्छ । यसरी सुलीमा राख्दा कीरा नलाग्ने भएका कारण यसरी सुली बनाएर चलन अहिले जिल्लाका केहि ठाँउमा राख्ने गरिन्छ ।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार
प्रतिक्रिया