२०८३ कात्तिक ११ , मंगलबार

चाडपर्व लक्षित चार स्थानमा यात्रु सहायता कक्ष स्थापना



 

दैलेख । दसैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै दैलेखका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वका बेला यात्रुलाई सुरक्षित र सहज यात्रा गर्न सहजीकरण गर्ने उद्देश्यले जिल्लाका चार स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–१ स्थित दैलेख बसपार्कमा मुख्य सहायता कक्ष स्थापना गरिएको छ। यसैगरी दुल्लु नगरपालिका–५ को चाँदनी चोक, आठबिस नगरपालिका–४ को राकम बजार र गुराँस गाउँपालिका–४ को रानीमत्तामा समेत यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रु ठगी, तोकिएभन्दा बढी भाडा असुली, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुका सामान हराउने तथा यात्रुवाहक सवारीसाधनमा व्यापारिक प्रयोजनका सामान ढुवानी गर्ने जस्ता गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले जनाएको छ।
चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले यातायात क्षेत्रमा हुन सक्ने अनियमितता रोक्न, यात्रुको सुरक्षा प्रदान गर्न र समस्यामा परेका यात्रुलाई तत्काल सहयोग पु¥याउन सहायता कक्ष स्थापना गरिएको प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जयसिंह गुरुले बताउनुभयो। उहाँले चाडपर्वका समयमा यात्रुलाई सुरक्षित र सहज यात्रा गराउने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको बताउनुभयो। चाडपर्वका बेला यात्रुको आवागमनसँगै सार्वजनिक सवारीसाधनको चाप बढ्ने भएकाले यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउ सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक यातायातमा बढी भाडा असुली, यात्रु ठगी तथा अन्य अनियमितता भएमा तत्काल प्रहरीलाई जानकारी गराउन यात्रुहरूलाई आग्रह गर्नुभयो।
प्रहरीले चाडपर्वको समयमा सार्वजनिक यातायात प्रयोग गर्दा तोकिएको भाडा तिर्न, टिकट लिएर मात्र यात्रा गर्न तथा कुनै पनि किसिमको अनियमितता देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन यात्रुसँग अनुरोध गरेको छ। सहायता कक्षमार्फत यात्रुले भोग्नुपर्ने समस्या, बढी भाडा असुली तथा अन्य गैरकानुनी गतिविधिबारे गुनासो गर्न सक्नेछन्। त्यस्ता गतिविधि भएको पाइएमा तत्काल आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार
प्रतिक्रिया