२०८३ कात्तिक ११ , मंगलबार

म्याद गुज्रिएका खाद्यवस्तु नष्ट



 

दैलेख असोज २६ गते । दशैँ तथा तिहारलाई लक्षित गरी दैलेखको आठबिस नगरपालिका–राकम बजारमा गरिएको बजार अनुगमनका क्रममा १४ हजार २२० रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्यवस्तु जफत गरी नष्ट गरिएको छ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, दैलेखको आयोजनामा शनिबार गरिएको अनुगमनका क्रममा राकम बजारका ५५ वटा पसल तथा व्यवसायको निरीक्षण गरिएको हो। कार्यालय प्रमुख शंकरबहादुर थापाको संयोजकत्वमा गएको संयुक्त अनुगमन टोलीले बजारमा बिक्रीका लागि राखिएका खाद्यवस्तुको म्याद, व्यवसाय दर्ता तथा अन्य कानुनी प्रक्रियाको अवस्थाबारे अनुगमन गरेको थियो।

अनुगमनका क्रममा सूजी, पिठो, दालमोठ, टफीलगायत दैनिक उपभोग्य खाद्यवस्तु म्याद गुज्रिएको अवस्थामा फेला परेका थिए। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने त्यस्ता सामग्री जफत गरी स्थलगत रूपमै नष्ट गरिएको कार्यालयले जनाएको छ।

टोलीले बजारका अधिकांश पसल तथा व्यवसाय दर्ता र नवीकरण नगरी सञ्चालन भइरहेको पाएको जनाएको छ। अनुगमनका क्रममा व्यवसायीलाई तत्काल व्यवसाय दर्ता तथा नवीकरण गर्न, अनिवार्य रूपमा मूल्यसूची राख्न, नापतौलका सामग्री प्रमाणीकरण गर्न, स्थायी लेखा नम्बर ९प्यान० वा मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता हुन तथा बिक्री बिलको प्रयोग गर्न निर्देशन दिइएको छ।

उपभोक्ताको अधिकार संरक्षण र स्वच्छ बजार कायम गर्ने उद्देश्यले अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, दैलेखका प्रमुख शंकरबहादुर थापाले बताउनुभयो। उहाँले पहिलो पटकका लागि व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गर्न र देखिएका कमजोरी सुधार गर्न निर्देशन दिइएको उल्लेख गर्दै अनुगमनका क्रममा निर्देशन पालना नगरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने बताउनुभयो।

आठबिस नगरपालिकाका नगरप्रमुख तर्कबहादुर बडुवालले पसलमा म्याद गुज्रिएका खाद्यवस्तु फेला पर्नु दुःखद भएको बताउनुभयो। उहाँले नगरपालिकाले आगामी दिनमा पनि नियमित बजार अनुगमन तथा नियमन गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार
प्रतिक्रिया