
दैलेख । लामो समयदेखि सटर तथा घुम्ती भाडाबापतको रकम उठाउन नसकेको दैलेख सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयले बक्यौता असुली अभियानलाई तीव्र बनाएको छ। भाडा नतिर्ने व्यवसायीका पसलमा तालाबन्दी गर्ने निर्णय गरेपछि विद्यालयले १८ लाख रुपैयाँ असुल गरेको छ। अझै करिब २० लाख रुपैयाँ उठाउन बाँकी छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृतबहादुर प्याकुरेलका अनुसार विद्यालयले सटर तथा घुम्ती भाडाबापत कुल ३८ लाख रुपैयाँ उठाउनुपर्नेछ। विद्यालयको अभिलेखमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीबाट १७ लाख र व्यवसाय छाडेर सम्पर्कविहीन भएकाहरूबाट २१ लाख रुपैयाँ भाडा असुल गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो।
लामो समयदेखि भाडा नतिरी सम्पर्कविहीन भएकाहरूबाट रकम उठाउन कानुनी परामर्श भइरहेको अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो। केही व्यवसायीले नगद र केहीले चेकमार्फत बक्यौता रकम बुझाएका छन्। आगामी दिनमा भाडा असुलीलाई व्यवस्थित बनाउन कार्यविधि निर्माण गरी मासिक रूपमा रकम संकलन गर्ने तयारी विद्यालयले गरेको छ।
विद्यालयका प्रधानाध्यापक नीरकबहादुर तारामीले व्यवस्थापन समितिमा नयाँ नेतृत्व आएपछि बक्यौता असुलीमा प्रगति भएको बताउनुभयो। लामो समयदेखि भाडा नतिर्ने केही भाडावालाको मृत्युसमेत भइसकेकाले त्यस्ता बक्यौता रकमका विषयमा आवश्यक निर्णय गरेर अघि बढ्ने उहाँले बताउनुभयो।
विद्यालय परिसरमा रहेका सटर तथा घुम्ती भाडामा लगाएर मासिक दुई लाख ३४ हजार रुपैयाँ आम्दानी हुने गरेको छ। तर विद्यालयको मासिक खर्च भने तीन लाख रुपैयाँ रहेको प्रधानाध्यापक तारामीले जानकारी दिनुभयो। आम्दानीभन्दा खर्च बढी हुँदा विद्यालयलाई आर्थिक व्यवस्थापनमा चुनौती देखिएको छ।
शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालयले छनोट प्रक्रियामार्फत छ जना शिक्षक नियुक्त गरी जनही मासिक २८ हजार रुपैयाँ तलब उपलब्ध गराउँदै आएको छ। यस्तो अवस्थामा भाडाबापतको बक्यौता रकम असुल हुन सके विद्यालयको आर्थिक व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विद्यालयका अनुसार सटर तथा घुम्ती सम्झौताअनुसार भाडामा दिइए पनि लामो समयसम्म रकम नबुझाउने र पटक–पटक सूचना जारी गर्दा समेत बेवास्ता गर्ने प्रवृत्तिका कारण बक्यौता बढ्दै गएको थियो। यही समस्यालाई सम्बोधन गर्न विद्यालय व्यवस्थापन समितिको असोज २१ गते बसेको बैठकले भाडा नतिर्ने व्यवसायीका पसलमा तालाबन्दी गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि भाडा बुझाउने क्रम बढेको विद्यालयले जनाएको छ।








