
कालीकोट । कालीकोटमा गुडिरहेको फोर्स गाडीमा आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ । सुर्खेतबाट जुम्लाको नाग्मतर्फ जाँदै गरेको गाडीमा आगलागी भए पनि समयमै यात्रुहरूलाई बाहिर निकालिएकाले मानवीय क्षति हुन पाएन ।
बुधबार दिउँसो करिब ३ः५५ बजे खाँडाचक्र नगरपालिका–१ स्थित जिल्ला अस्पताल नजिकै भे १ ख ४०९४ नम्बरको फोर्स गाडीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीका अनुसार उकालो चढ्ने क्रममा गाडीको इन्जिन तातिएपछि धुवाँ निस्किएको थियो । धुवाँ देखेपछि चालकले गाडीमा सवार यात्रुहरूलाई ओराल्न थालेका थिए । सोही क्रममा गाडीमा आगो लागेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
घटनाको सूचना प्राप्त भएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक धनबहादुर राना क्षेत्रीको कमान्डमा १५ जनाको प्रहरी टोली आगो निभाउने उपकरणसहित घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट गाडी पूर्ण रूपमा नष्ट हुनुका साथै गाडीभित्र रहेका सम्पूर्ण सामानसमेत जलेर नष्ट भएका छन् । यात्रुहरूलाई समयमै सुरक्षित स्थानमा निकालिएकाले कुनै मानवीय क्षति नभएको प्रहरीले स्पष्ट पारेको छ ।
घटनास्थल जिल्ला प्रहरी कार्यालय कालीकोटबाट करिब तीन किलोमिटर पश्चिम–दक्षिणमा रहेको छ । आगलागीबाट भएको क्षतिको थप विवरण भने खुल्न बाँकी छ ।








