२०८३ कात्तिक ११ , मंगलबार

चाडपर्व मनाउन ऋण लिनुपर्ने बाध्यता



यामराज बिष्ट
दैलेख । दसैँ नजिकिएसँगै दैलेख सदरमुकाममा चहलपहल बढेको छ । दैलेख सदरमुकामस्थित गणेश चोकमा अस्थायी बसोबास गर्दै आएका बादी समुदायका परिवार भने दसैँ कसरी मनाउने भन्ने चिन्तामा छन् ।
आर्थिक अभावका कारण दैनिक घरखर्च जुटाउनै मुस्किल भएपछि उनीहरू चाडपर्व मनाउन ऋण खोज्न बाध्य भएका छन् । गणेश चोकमा बसोबास गर्दै आएका बादी समुदायका ज्येष्ठ नागरिकका लागि दसैँको खुसीभन्दा पनि छाक टार्ने र घरखर्च जुटाउने चिन्ता ठुलो बनेको छ । नमुना बस्तीका ९० वर्षीय धनकला बादीको अवस्था झनै पीडादायी छ । गत साउनमा लडेर खुट्टा भाँचिएपछि उहाँलाई उपचार गर्नसमेत समस्या भएको छ । उमेर ढल्किँदै गएको र शारीरिक रूपमा काम गर्न नसक्ने अवस्थामा पुगेपछि उहाँको जीवनयापन कष्टकर बन्दै गएको छ ।

परिवारमा कमाएर घर चलाउने एक मात्र छोराको हात भाँचिएपछि आर्थिक समस्या बढेको उहाँले बताउनुभयो । उहाँले परिवारको आम्दानी गर्ने व्यक्ति नै घाइते भएपछि उपचारखर्च जुटाउन र दैनिक गुजारा चलाउन कठिन भएको बताउनुभयो । नियमित आम्दानीको स्रोत नहुँदा दैनिक आवश्यकतादेखि चाडपर्वको तयारीसम्म गर्न उहाँलाई कठिन भएको छ । उहाँका लागि दसैँ मनाउनेभन्दा पनि उपचार र दैनिक आवश्यकताको जोहो गर्नु मुख्य चुनौती बनेको छ ।

यस्तै ७० वर्षीय नौना बादीको अवस्था पनि उस्तै छ । एक्लै बस्दै आउनुभएकी उहाँलाई दैनिक घरखर्च जुटाउन समस्या हुने गरेको छ । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताले सामान्य खर्च धान्न केही सहयोग पुगे पनि चाडपर्वका बेला थपिने आर्थिक भार व्यवस्थापन गर्न कठिन हुने गरेको उहाँको भनाइ छ । आर्थिक समस्या टार्न कतिपयले छिमेकीसँग सहयोग माग्ने र घरमा भएका सुनका गहना धितो राखेरसमेत कर्जा लिने उहाँले बताउनुभयो । उहाँले नियमित आम्दानी नहुँदा चाडपर्व मनाउन अरूसँग ऋण लिनुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो ।

यस्तै पछिल्लो समय मादल व्यवसायको बजारीकरण नहुँदा समस्या भएको जयलाल बादीको भनाइ छ । उहाँले केही वर्षअघिसम्म चाडपर्वको समयमा मादल बेचेर घरखर्च चलाए पनि मादल बनाउने पेसामा सङ्कटमा पुगेको बताउनुभयो । विगतका वर्षमा गाउँदेखि सहरसम्म मादल किन्नेको भिड लाग्थ्यो । उहाँको दैनिकी मादल बनाएर बित्ने ग¥थ्यो । यस वर्ष भने दसैँ नजिकिँदै गर्दा पनि हालसम्म मादल बिक्री नहुँदा आर्थिक रूपमा समस्या भएको उहाँले गुनासो गर्नुभयो । बादी समुदायका ज्येष्ठ नागरिक र विपन्न परिवारको अवस्थाले आर्थिक अभावमा रहेका नागरिकका लागि सामाजिक सुरक्षा, स्वास्थ्योपचार र जीविकोपार्जनमा समस्या भएको गोरबहादुर बादीले बताउनुभयो । उहाँले दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने परिवारलाई नियमित काम नपाउँदा घरखर्च जुटाउनसमेत समस्या भएको बताउनुभयो ।

प्रकाशित मिति : २०८३ असोज २९ गते बिहीबार
प्रतिक्रिया