२०८३ कात्तिक ११ , मंगलबार

भारत लैजाँदै गरिएका हुम्लाका २५ बालबालिकाको उद्धार



 

हुम्ला । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका हुम्लाका २५ जना बालबालिकालाई नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ। अभिभावकबिना अपरिचित व्यक्तिसँग भारततर्फ गइरहेको अवस्थामा उनीहरूलाई भारतीय सीमा सुरक्षाकर्मीले रोकेर नेपाल प्रहरीको जिम्मा लगाएका हुन्।

प्रहरी नायव उपरीक्षक शंकर खड्काका अनुसार बिहीबार बिहान कञ्चनपुरको बनबासा चेकपोस्टबाट बालबालिकाको उद्धार गरिएको हो। भारत प्रवेश गरिसकेका उनीहरूलाई सीमा सुरक्षाकर्मीले सोधपुछ गर्ने क्रममा शंकास्पद अवस्था देखिएपछि नियन्त्रणमा लिएका थिए।

उद्धार गरिएका सबै बालबालिका हुम्लाको सिमकोट गाउँपालिका–८, स्याँडा गाउँका रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू १० वर्षभन्दा कम उमेरका छन्। हाल बालबालिकालाई कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हुम्लाका पञ्चवीर बुढाले बालबालिकालाई गड्डाचौकी नाका हुँदै भारत लैजाँदै थिए। बालबालिकालाई अभिभावकको साथबिना भारत लैजानुको उद्देश्य र घटनाको अन्य पक्षबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

बालबालिकालाई भारत लैजाने बुढाविरुद्ध मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार
प्रतिक्रिया