
काठमाडौँ । हिन्दू नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज सातौँ दिन देशभर श्रद्धा र भक्तिभावका साथ फूलपाती भित्र्याइँदै छ। आश्विन शुक्ल सप्तमीका अवसरमा नवदुर्गामध्ये सातौँ स्वरूप देवी कालरात्रिको विशेष पूजाआराधना गरिनुका साथै घर, मन्दिर र दसैँघरमा विधिपूर्वक फूलपाती भित्र्याउने परम्परा छ।
फूलपातीको अवसरमा काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष फूलपाती बढाइँ समारोह आयोजना गर्ने कार्यक्रम छ। दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्व झल्काउने यस पर्वमा देशभरका घरपरिवारले पूजा सामग्री भित्र्याएर दुर्गा भवानीको आराधना गर्ने गर्छन्।
फूलपातीलाई नवपत्रिका पनि भनिन्छ। यसमा नौ प्रकारका वनस्पति तथा पालुवालाई समावेश गरिन्छ। धार्मिक मान्यताअनुसार केरा, दारिम, धान, बेसार, मानवृक्ष, उखु, बेलपत्र, अशोक र जयन्तीले क्रमशः ब्रह्मायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकरहिता र कात्तिकी देवीको प्रतिनिधित्व गर्छन्। यी वनस्पतिलाई शक्ति, समृद्धि, सुख र कल्याणको प्रतीकका रूपमा लिने गरिन्छ।
गोरखादेखि हनुमानढोकासम्म फूलपाती ल्याउने परम्परा
फूलपाती भित्र्याउने परम्परामा गोरखा दरबारको विशेष महत्त्व छ। ऐतिहासिक परम्पराअनुसार गोरखा दरबारको दसैँघरबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइन्छ।
यस परम्पराअन्तर्गत गोरखाबाट पुजारीसहित मगर समुदायका छ जनाले फूलपाती बोकेर धादिङको जीवनपुरसम्म पैदल यात्रा गर्छन्। त्यसपछि काठमाडौँका छ जना ब्राह्मणले फूलपातीलाई जमलसम्म ल्याउने चलन छ। जमलबाट सरकारी अधिकारी, नेपाली सेनाको गुर्जुको पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा तथा सांस्कृतिक झाँकीसहितको टोलीले हनुमानढोकासम्म पुर्याउँछ।
यसरी सम्पन्न हुने फूलपाती भित्र्याउने समारोहले नेपाली मौलिक संस्कृति, ऐतिहासिक विरासत र धार्मिक आस्थालाई उजागर गर्छ।
कालरात्रिको आराधनाले शुभ फल मिल्ने विश्वास
बडादसैँको सातौँ दिन देवी कालरात्रिको विशेष पूजा गरिन्छ। नवदुर्गाको उग्र स्वरूप मानिने कालरात्रिलाई दुष्ट शक्तिको नाश गर्ने तथा भक्तजनलाई शुभ फल प्रदान गर्ने देवीका रूपमा पुजिन्छ। संहारकारी रूप भए पनि भक्तको कल्याण गर्ने भएकाले उहाँलाई ‘शुभङ्कारी’ समेत भनिन्छ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कालरात्रिको वर्ण कालो, तीन नेत्र र गधालाई वाहनका रूपमा चित्रण गरिएको छ। देवीको पूजा गर्दा विशेष मन्त्रद्वारा स्तुति गर्ने परम्परा छ।
पौराणिक कथाअनुसार रक्तबीज नामक असुरले ब्रह्माजीबाट आफ्नो रगतको थोपा जमिनमा खस्नेबित्तिकै त्यस्तै शक्तिशाली अर्को असुर जन्मने वरदान पाएको थियो। यही शक्तिका कारण देवताहरूलाई उसलाई परास्त गर्न कठिन भएको थियो। रक्तबीजको अत्याचार बढेपछि देवी दुर्गाले कालरात्रिको रूप धारण गरी युद्ध गर्नुभएको धार्मिक विश्वास छ।
युद्धका क्रममा कालरात्रिले रक्तबीजको शरीरबाट निस्किएको रगत जमिनमा खस्न नदिई पान गर्नुभएको र अन्ततः उसको वध गरी देवताहरूलाई मुक्त गराउनुभएको पौराणिक कथामा उल्लेख छ। यस घटनालाई अधर्ममाथि धर्मको विजयका रूपमा व्याख्या गरिन्छ।
कालरात्रिको पूजा गर्नाले भय, रोग तथा नकारात्मक प्रभावबाट रक्षा हुने र जीवनमा सुख, शान्ति तथा कल्याण प्राप्त हुने जनविश्वास छ। यस दिन गरिने पूजाआराधना र फूलपाती भित्र्याउने परम्पराले बडादसैँको धार्मिक उत्साहलाई थप विशेष बनाउने गर्छ।








