२०८३ कात्तिक ११ , मंगलबार

सुनकोशीमा यात्रुवाहक जिप खस्दा ३ जनाको मृत्यु



 


खोटाङ, कात्तिक १ गते। काठमाडौंँबाट खोटाङतर्फ आउँदै गरेको जिप  सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सडकबाट सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा परेका चार जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ भने तीन जना बेपत्ता छन्।

प्रहरीका अनुसार को १ ज २९७६ नम्बरको सुमो गाडी कात्तिक १ गते राति करिब २ः३० बजे सडकबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको हो। दुर्घटनापछि गाडी नदीमा आधा डुबेको अवस्थामा फेला परेको थियो।

घटनास्थलमै मृत फेला परेका तीनै जना महिलाको पहिचान खुल्न सकेको छैन। बेपत्ता रहेका तीन जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

गाडीमा चालकसहित १० जना सवार थिए। स्थानीय राकेश पोखरेलका अनुसार उद्धार गरिएका चार जनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको छ।

उद्धार गरिएकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई, दिक्तेल घर बताउने १३ वर्षीय अंकित विश्वकर्मा र सुमो चालक ओखलढुंगाका आशिष बिष्ट रहेका छन्।

दुर्घटनाको कारण र मृतक तथा बेपत्ताहरूको पहिचानबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८३ कात्तिक २ गते आइतबार
प्रतिक्रिया