२०८३ कात्तिक १९ , बुधबार

डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ



 

रुकुम पश्चिम। डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई आज बिहान आठबीसकोट नगरपालिका–६ स्थित दामाचौर खोली बगरबाट पक्राउ गरिएको हो । दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदी हुन् ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी गोतामकोटमा राखिएको प्रहरीले जनाएको छ ।

गत कात्तिक १४ गते बिहान सुरुङ खनेर डोल्पा जिल्ला कारागारबाट आठ जना कैदी फरार भएका थिए । फरार कैदीमध्ये दुई जना पक्राउ परेसँगै बाँकी छ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बुधबार
प्रतिक्रिया