२०८३ कात्तिक १६ , आइतबार

राष्ट्रिय युवा संघ दैलेखको अधिवेशन कात्तिक १९ र २० गते



 

दैलेख । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दैलेखको दशौँ जिल्ला अधिवेशन आगामी कात्तिक १९ र २० गते जिल्ला सदरमुकाम दैलेखमा हुने भएको छ ।जिल्ला कमिटीको गत असोज २८ गते बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो । नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको दुईवर्षे कार्यकाल पूरा हुन लागेसँगै नयाँ नेतृत्व चयनका लागि अधिवेशन गर्न लागिएको हो।

अधिवेशनको मिति तय भएसँगै नयाँ नेतृत्व चयनको विषयले पनि संगठनभित्र चर्चा पाउन थालेको छ । जिल्ला अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष देवेन्द्र शाहीको नाम सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेको छ ।

संगठनमा लामो समयदेखि आबद्ध रहनु भएका शाहीले जिल्ला कमिटी सदस्य, उपसचिव र उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ । संगठनका विभिन्न तहमा रहेर काम गरेको अनुभवका आधारमा उहाँको सम्भावित उम्मेदवारीलाई चासोका साथ हेरिएको छ ।

यद्यपि, अध्यक्ष पदमा उम्मेदवारी दिने वा नदिने र आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने विषय अधिवेशनको प्रक्रिया तथा प्रतिनिधिको निर्णयबाट टुङ्गो लाग्नेछ ।दशौँ जिल्ला अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्नुका साथै संगठनको आगामी कार्ययोजना र कार्यदिशासमेत तय गर्नेछ । अधिवेशनबाट निर्वाचित नेतृत्वले जिल्लामा युवा परिचालन, संगठन विस्तार तथा युवाका सामाजिक, आर्थिक र राजनीतिक सवालमा खेल्ने भूमिकालाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते आइतबार
प्रतिक्रिया