
दैलेख।सुर्खेत–दैलेख १३२ केभी विद्युत् प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । वनक्षेत्रका रुख कटानको अनुमति नपाउँदा निर्माणमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका सूचना अधिकारी युवराज विष्टले बताउनुभयो । उहाँले स्वीकृति प्राप्त भएपछि रोकिएका टावरको जग निर्माण अघि बढाइने जानकारी दिनुभयो । उहाँका अनुसार उक्त आयोजना छिटो सम्पन्न गर्न रुख कटानका लागि मन्त्रीपरिषद्बाट स्वीकृति आए काम अघि बढाइने छ ।
करिब ८० करोड रुपियाँ लागतमा निर्माण हुन लागेको आयोजना २०८२ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर निर्धारित समयभित्र निर्माण पूरा हुन सकेन । आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने १०१ वटा टावरमध्ये हालसम्म ४१ वटा निर्माण सम्पन्न भएका छन् भने ८१ वटाको फाउन्डेसन निर्माण भएको छ । बाँकी २० वटा टावर वनक्षेत्रमा पर्ने भएकाले निर्माण सुरु हुन नसकेको आयोजनाले जनाएको छ ।
यस्तै प्रसारण लाइनको मार्गमा पर्ने राष्ट्रिय र सामुदायिक वनका करिब १९ हजार ४१ वटाभन्दा बढी रुख कटान गर्नुपर्ने भएपछि मन्त्रीपरिषद्बाट स्वीकृति नआउँदा निर्माण काम ढिलाइ भएको आयोजनाले जनाएको छ । दैलेखमा आठ हजार २५९ वटा, सुर्खेतमा १० हजार ७८२ वटा रुख कटान गर्नुपर्ने भएको छ । प्रसारण लाइनको ठेक्का सम्झौता भएको दुई वर्ष बितिसक्दा आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ । वनक्षेत्रमा पर्ने १९ वटा टावरको जग निर्माणसमेत सुरु हुन सकेको छैन ।
सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सबस्टेसनदेखि दैलेखको चुप्रासम्म ३२ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि २०८० सालमा सिग्मा काठमाडौँसँग ठेक्का सम्झौता भएको थियो ।
प्रसारण लाइनले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ र दैलेखको गुराँस गाउँपालिका–४ र ५ तथा डुङ्गेश्वर गाउँपालिका–१ र ६ हुँदै चुप्रालाई जोड्ने छ । चुप्रामा निर्माणाधीन १३२ केभी सबस्टेसनको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । सुर्खेत–दैलेख प्रसारण लाइन कर्णालीमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न र स्थानीयस्तरमा विद्युत् आपूर्ति सहज बनाउन महìवपूर्ण मानिएको आयोजना हो ।








