
यामराज बिष्ट
दैलेख । नारायण नगरपालिका वडा नं–२ का वडाध्यक्ष रेशमबहादुर थापा राजनीतिक संगै कृषि पेसामा रमाइँरहनु भएको छ । मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आनुभएका कृषक थापा कृषि पेसाबाट नाम र दाम दुवै कमाउनुभएको छ ।
उहाँले जिल्लामा राजनीतिक सँगसँगै कृषि पेसामा अब्बल कृषकको पहिचान बनाउनुभएको छ ।उहाँले वार्षिकरुपमा १५लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।
दुई दशकदेखि तरकारी खेतीमा संलग्न वडाध्यक्ष थापा बिहान४ बजे देखि आफ्नो तरकारीबारीमै व्यस्त हुनुहुन्छ । जिल्लामा व्यावसायिक रूपमा कृषि व्यवसाय गरेर उदाहरणिय काम गर्नुभएका थापा ठीक १०बजे वडा कार्यालय पुग्नुहुन्छ । जनताको सेवामा सक्रिय वडा अध्यक्ष थापा वडाको काम सकिएपछि साँझको समय तरकारी बारीमै ब्यस्त हुनुहुन्छ ।
उहाँले उदाहरण दिएर युवाहरुलाई कृषिमा लाग्न प्रोत्साहन दिन र व्यवसायिक बन्न राजनितिसँगै यो पेशा अंगालेको बताउनुभयो । मौसमीभन्दा बेमौसमी तरकारीमा बढी आम्दानी हुने भएकाले त्यसमा उहाँले बढी जोड दिँदै आउनुभएको छ । भविष्यको योजना सुनाउँदै उहाँले तरकारीखेतीलाई विस्तार गरी उत्पादन बढाएर बढी आम्दानी लिने सोच रहेको बताउनुभयो । पहिलेको तुलनामा पछिल्लो समय तरकारी उत्पादन निकै बढेको उहाँको भनाई छ ।
पछिल्लो समयमा राजनीतिकर्मिहरुलाई आर्थिक समस्या देखिने भएकाले आफ्नो जिविकोपार्जन गर्नका लागि कृषि फार्म संचालनमा ल्याएको हुँ’वडाध्यक्ष थापाले भन्नुभयो ‘आफुले कृषि व्यवसाय शुरु गरेको कृषिबाट गरे देखि नै भनेजस्तै आम्दानी भएको छ । तरकारी खेतीबाट हुने आम्दानीले परिवारको खर्च चल्ने समेत गरेको उहाँले बताउनुभयो । गाउँकै सहकारी बाट ६ लाख भन्दा बढी ऋण लगेर र आफ्नो डेढ लाख लगानी गरी कृषि पेसा अँगालेका वडा अध्यक्ष थापाले आफ्नै ५० रोपनी जग्गामा तरकारी खेती गर्नु गर्नुभएको छ ।बाह्रै महिना तरकारीखेती गर्दै आउनुभएका उहाँको बारीमा अहिले काउली, बन्दा, गोलभेडा, खुर्सानी, मुला, धनियाँ र टमाटर लटरम्म फलेको छ ।
३३ बर्ष शिक्षण पेसामा सेवा गरेका वडाध्यक्ष थापा २०७४सालको स्थानीय तहको निर्वाचनदेखि नारायण नगरपालिका–२ को वडाध्यक्षमा लगातार विजयी हुनुभएको छ । यस फर्ममा अहिले चार जनाले रोजगारी पाएका छन् ।







