
यामराज बिष्ट
दैलेख पुस२४गते। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले दैलेख सदरमुकाममा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले गुनासै गुनासो गरेका छन् । कार्यक्रममा सहभागीले विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धमा विभिन्न जिज्ञासा,चासो नदिएकोे भन्दै गुनासै गुनासा गरेका हुन् ।
पञ्चकोशी अपाङग विकास मञ्चका अध्यक्ष कमल खड्काले सरकारी संरचना निर्माण गर्दा अपाङमैत्री नहुँदा अपाङगता भएका सेवाग्राहीहरुलाई असुविधा भएको समस्या सुनाउनुभयो । उहाँले सेवा प्रवाहमा सहजीकरण र समन्वय गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखका पूर्वपार्टी सचिब प्रकाश कुमार बुढाले जिल्ला प्रशासन कार्यालयले पछिल्लो समयमा नागरिक सेवा प्रवाहमा भनेजस्तो काम गरेको प्रशंसा गर्नुभयो । उहाँले सडकमा निर्माण गरिएका सालिक वा प्रतिमाले रात्रिकालिन समयमा यात्रा गर्दा ड्राइभर तथा यात्रुको मानसिक अवस्थामा असर पुर्याउने र दुर्घटना निम्त्याउन भएकाले सालिक हटाउनका लागि अनुरोध गर्नुभयो। उहाँले नेपालका अन्य कुनै सडक तथा विदेशका कुनै पनि मुलुकमा यस प्रकारको प्रचलन नरहेको समेत उल्लेख गर्नुभयो । उहाँले प्रहरीले कुनै पनि घटनाको जाहेरी लिने सम्बन्धमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको गुनासो व्यक्त गर्नुभयो ।

नागरिकका गुनासा तत्काल सम्बोधन गर्न पहल गर्नुपर्ने गैसस महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्दले बताउनुभयो । सरकारले गैससहरु प्रवद्र्धनका कार्यक्रम राख्नुपर्ने जस्ता सरकारी सेवा सुदृढ गर्नुपर्ने सुझाव दिनुभयो ।उहाँले नागरिकता विषयमा धेरै समस्या देखिएकाले त्यसलाई सहज बनाउन आवश्यक रहेको बताउनुभयो ।
यस्तै नारायण नगरपालिका –१ का वडाध्यक्ष शैलेस श्रेष्ठले बदेल र बाँदर लगायतका बन्यजन्तुहरुले किसानले लगाएको बालीनाली नोक्सान पार्नेक्रम बढेको बताउनुभयो । उहाँले पछिल्लो समयमा ग्रामीण क्षेत्रबाट बस्ती सर्ने क्रम बढेकोले रोकथाममा सबै निकाय गम्भीर हुनुपर्ने ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले सेवा ग्राहीलाई नागरिक मैत्री सेवा प्रवाहको सवाललाई प्रमुख प्राथमिकताका साथ लिएको बताउनुभयो । उहाँले जिल्ला भित्रका अवैध क्रसर उद्योग बन्द गर्नुपर्ने जिल्लाको समग्र क्षेत्रमा सुशासन प्रवद्र्धनमा जोड दिइने समेत बताउनुभयो । उहाँले नागरिकका समस्या सुन्नु र समाधानका लागि पहल गर्नु प्रशासनको दायित्व भएकोले सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज गणेशबहादुर बरालले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन लागि परेको बताउनुभयो ।उहाँले आगामी दिनमा बजार अनुगमन र यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाउन लागी पर्ने बताउनुभयो ।
नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरुको जवाफ दिंदै समस्या सुल्झाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले सेबा प्रवाह गर्ने सेवाका विषयमा जानकारी गराउनु भयो ।
नारायण नगरपालिकाका कार्यवाहक मेयर गोपाल बीसीले विकासका पूर्वाधार निर्माणसँगै सेवा विस्तारमा पालिका निरन्तर लागिपरेको बताउनुभयो । उहाँले जिल्लामा यस्ता खाले कार्यक्रम सबै सरकारी कार्यालयले गर्नुपर्ने बताउनुभयो ।उहाँले नागरिकको समस्या र गुनासोको संवोधन गर्दै आएको र आगामी दिनमा संवोधन हुने बताउनुभयो ।
सहभागीले अवैध क्रसर उद्योग, ढुंगा–गिट्टी उत्खनन तथा वातावरण प्रदूषण गर्ने गतिविधिमाथि निगरानी गर्नुपर्ने बताएका थिए ।







