२०८३ जेठ २० , बुधबार

आयुर्वेदिक उपचारमा जनविश्वास बढ्दो



 

यामराज बिष्ट
दैलेख, पुस २५गते । पछिल्लो समयमा दैलेख जिल्लामा आयुर्वेदिक उपचारमा बिरामीको चासो र स्थानीयवासीको जनविश्वास बढेको पाईएको छ । जिल्लामै कम खर्चमा रोग निको हुने भएपछि स्थानीयवासीको यस्तो उपचार पद्धतिप्रति जनविश्वास बढेको पाईएको हो ।
स्थानीयवासीले समयमै सहज रूपमा गुणस्तरीय सेवा पाए पछि उपचारमा सहज भएको स्थानिय नारायण नगरपालिका –११का ७४बर्षिया मनधरा शाहीले बताउनुभयो । उहाँले पछिल्लो समयमा कम खर्चमा रोग निको हुने र दीर्घकालीन स्वास्थ्य लाभ पाइने भएपछि स्थानीय आयुर्वेदिक उपचार प्रति आकर्षित हुन थोलेको बताउनुभयो । स्थानिय शाहीले भन्नुभयो “सुरु सूरुमा उपचार गराउन लागी जिल्ला बाहिरका ठूलाठुला अस्पतालमा गएँ निको भएन तर अहिले आयुर्वेदिकमा उपचार गराउन थालेपछि शरीर दुख्ने समस्या निको हुँदै गएको छ । प्रायः टाउको दुख्ने, हात खुट्टा सुन्निने जस्ता समस्या आयुर्वेदिकको औषधिले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको छ ।”

 

यस्तै आयुर्वेदमा उपचारका लागी आइपुगेका बिरेन्द्र नगरपालिका –१सुर्खेत घर भएका हाल पञ्चकोशी वेद विद्याश्रममा अध्यापन गराउदै आउनुभएका प्रेम गौतमले आफुलाई पायल्सको समस्याले सताएको बताउनुभयो । उहाँले पायल्सको उपचार लागी बाहिर जिल्लामा गएर उपचार गराँउदा निको नहुँदा दिनप्रति दिन समस्याले सताएको थियो तर पछिल्लो समयमा आयुर्वेदिक उपचार गर्न थालेपछि समस्या समधान भएको बताउनुभयो । उहाँले आयुर्वेद उपचार पद्धतीमा सेवाग्राहीमा दिनप्रतिदिन विश्वास बढ्दो रहेकोले फलोअपमा उपचारमा आउने सेवाग्राहीको बढ्दै गएको उहाँको भनाई छ ।

अघिल्ला वर्षहरूमा आयुर्वेदिक उपचारमा बिरामीको कमै ध्यान जाने गरेको भए पनि पछिल्लो समयमा भने उपचारका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा भीड लाग्ने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका प्रमुख डाक्टर यादब प्रसाद उपाध्यायले बताउनुभयो ।

उहाँले दैनिक रूपमा ४० देखि ४५ जनासम्म बिरामी आउने गरेको बताउनुभयो । स्वास्थोपचारका लागि विभिन्न उपकरणसमेत जडान गरिएको छ । आर्थिक वर्ष २०८१र८२ मा करिब १६ हजार बिरामीले उपचार सेवा लिएको प्रमुख यादबले बताउनुभयो ।उपचारका लागि आउने अधिकांश बिरामी पेट सम्बन्धी रोग,बाथ रोग, पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी र नशासम्बन्धीका रोगी रहेको कार्यालयको जनाएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले ३६प्रकारका आयुर्वेदिक औषधि निस्शुल्क वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार
प्रतिक्रिया