२०८३ जेठ २० , बुधबार

निर्वाचन आयोगद्वारा मतपत्रको वास्तविक नमुना सार्वजनिक



काठमाडौँ । निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट वास्तविक मतपत्रको नमूना सार्वजनिक गर्न सुरु गरेको छ । कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र छन् भने दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् ।

ती जिल्लाको वास्तविक मतपत्रको नमूनासमेत सार्वजनिक गरिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र रहेका छन् भने अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन् । ती सबै निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरिएको उनले जानकारी दिनुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गर्ने क्रम जारी रहेको आयोगले जनाएको छ । आयोगले सातवटै प्रदेश मातहतका जिल्लाका मतपत्रको नमूना सार्वजनिक गरिसकेको छ । आयोगले एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूना सार्वजनिक गरेको हो ।

उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले प्रस्ट पारेको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठुलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने जनाइएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा उम्मेदवार पनि बढी भएकाले मतपत्रको आकार ठुलो हुने आयोगका सहायक प्रवक्ता जिसीले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार
प्रतिक्रिया