
दैलेख । दैलेखमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी तीन हजार ४७२ परिवार जग्गाको लालपुर्जा पाउने प्रतीक्षामा छन्। वर्षौंदेखि निवेदन दिए पनि स्थानीय तहको सुस्तता, कागजातमा देखिएको त्रुटि र वास्तविक सुकुम्बासी पहिचानमा कठिनाइ हुँदा प्रक्रिया अघि बढ्न सकेको छैन।
जिल्लाभर २४३ भूमिहीन दलित, ८२ अन्य सुकुम्बासी र तीन हजार १४७ अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि आवेदन दिएका छन्। तर छानबिनका क्रममा नक्कली कागजात, अन्यत्र जग्गा भएका व्यक्तिको आवेदन र सरकारी जग्गामाथिका विवादित दाबी भेटिएपछि प्रक्रिया थप जटिल बनेको छ।
जिल्ला प्रसासन कार्यालय दैलेखका अनुसार स्थानीय तहबाट वास्तविक भूमिहीनको पहिचान गरी सिफारिस नआउँदा जग्गा वितरणमा समस्या भएको बताएका छन्। स्थानीय जनप्रतिनिधिहरूले पनि आवेदनको विवरण सच्याउनुपर्ने, वास्तविक सुकुम्बासी पहिचान गर्न कठिनाइ हुने र उपलब्ध सरकारी जग्गाको अभाव रहेको जनाएका छन्।
नापी कार्यालयका अनुसार स्थानीय तहको सही सिफारिस र समन्वयबिना प्राविधिक प्रक्रिया अघि बढाउन कठिन छ। राजनीतिक दलहरूले भने सुकुम्बासी समस्यालाई चुनावी मुद्दा बनाउने गरेको आरोप लगाएका छन्।वास्तविक भूमिहीनको पहिचान, जग्गाको उपलब्धता र प्रशासनिक ढिलाइका कारण दैलेखका हजारौँ परिवारको भूमि अधिकार प्राप्त गर्ने आशा अझै अन्योलमा छ।








