
यामराज बिष्ट
दैलेख। जिल्लामा राजनीतिक दलहरूले आगमी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागी चुनावी अभियान चलाउन थालिसकेका छन् । बिभिन्न राजनितिक दलबाट फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा उम्मेदवार बनेका दलहरूले प्रचारप्रसार, मतदाता भेटघाटजस्ता कार्यक्रमलाई तीव्र दिए पनि निर्वाचन नजिकिर्दै जाँदा मतदातामा भने अझै पनि चुनावी उत्साह देखिएको छैन ।
दैलेख जिल्लामा दलका नेता तथा कार्यकर्ताहरूमा निकै उत्साह देखिए पनि आम मतदातामा भने खासै उत्साह देखिएको छैन। विगतका हुने निर्वाचनको जस्तो यो पटकको चुनावी चहल–पहलमा मतदातामा उत्साह देखिएको छैन।
बिगतका निर्वाचनमा छिमेकी वा आफन्त उम्मेदवार हुँदा उत्साहित देखिएका मतदाता यो पटक भने सबै राजनितिक दल देखि दिक्क भएको ठाटिकाँध गाँउपालिका –२ स्थानीय नेमराज शाही बताउनुभयो । उहाँले उम्मेदवारहरू चुनावको समयमा मात्र जनता घरदैलोमा पुग्ने जनतालाई विभिन्न किसिमका आश्वासन दिने तर विजय पश्चात् जनतालाई दिएका ती आश्वासनलाई बिर्सने गरेकाले पनि यो निर्वाचनमा मतदातामा चुनावी उत्साह कम देखिएको बताउनुभयो ।
यस्तै विगतमा जस्तो यो पटकको चुनावी चहल–पहलमा मतदातामा उत्साह कम देखिएको ठाटिकाँध गाँउपालिका –२ मनबहादुर विकले बताउनुभयो । उहाँले चुनावका बेला नेताहरु घर–घरमा गएर विकास गर्छौ भनेर जनलाई आश्वासन दिने चुनाव जितेर गएपछि पटकै गाउँ फर्केर नआउने हुँदा यस पटक सर्वसाधारण जनतामा उत्साहि नदेखिएको उहाँले बताउनुभयो । उहाँले चुनाव नजिकिर्दै गरे पनि मतदातालाई अहिले सम्म केको चुनाब आएको थाहा नभएको बताउनुभयो । उहाँले पछिल्लो समयमा गाँउबाट बेरोजगारीका कारण पुरुषहरु भारत जानेको संख्या बढेको बताउनुभयो ।
दैलेख जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ । दैलेखबाट १ लाख ६१ हजार २ सय ४ जना मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले बताउनुभयो । उहाँले आगमी निर्वाचनको लागी अन्तिम नामावली अनुसार दैलेखमा ८१ हजार ९९ पुरुष र ८० हजार १ सय ५ महिला मतदाता समावेश भएको बताउनुभयो ।
आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैलेख जिल्लाभर १ सय ३९ मतदान स्थल र २ सय ८ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी सलामीले बताउनुभयो । दैलेख जिल्लामा मतदाताले सबै राजनीतिक दलका कुरा सन्ने गरेपनि बिगत जस्तै यो नागरिकमा खासै उत्साह नदेखिएको जिल्ला निर्वाचन अधिकारी सलामाीले बताउनुभयो।
दैलेख जिल्लामा २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदय निर्वाचनमा पुरुष ७९ हजार ५ सय २० र महिला ७९ हजार ४ सय ३८ गरी कुल दैलेखमा कुल मतदाताको संख्या एक लाख ५८ हजार ९ सय ५८ रहेको थियो ।








