२०८३ भदौ २८ , आइतबार

वन अतिक्रमण नियन्त्रण गरिने



 

दैलेख । वन क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न डिभिजन वन कार्यालय दैलेखले कठोर  कदम चाल्ने तयारी गरेको छ । कार्यालयले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा हटाउने अभियानलाई वन संरक्षणमा ठुलो चुनौती देखिएको भन्दै यसलाई रोक्न सवै गम्भीर हुनुपर्ने बताएको हो ।

जिल्लामा अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ । सूचना जारी भएपछि पनि अतिक्रमण नहटाइएमा सुरक्षा निकाय परिचालन गरी सञ्चारकर्मीहरूको उपस्थितिमा वन क्षेत्र खाली गराइने डिभिजन वन कार्यालय दैलेखका प्रमुख अमरप्रसाद शाहले बताउनुभयो । उहाँले संघिय संरचनामा गएसंगै संस्थागत वन अतिक्रमण जिल्लामा बढिरहेको बताउनुभयो । वनको दिगो व्यवस्थापन  र उत्पादनमुखी बनाउनु अहिलेको चुनौती रहेको कार्यालय दैलेखका प्रमुख शाहको भनाई छ ।

उहाँका अनुसार विशेषगरी चामुण्डाबिन्द्रासैनी नगरपालिका क्षेत्रको टावरदेखि बिन्द्रासैनी मन्दिरसम्मका संरचनाहरू वन क्षेत्रभित्र पर्ने भएकाले स्थानीय तहसहित सबै पक्षको सहयोग आवश्यक रहेको छ ।

प्रारम्भिक अध्ययनअनुसार दैलेखको कुल ७७ हजार ४ सय ७५ हेक्टर वन क्षेत्रमध्ये करिब २३८ हेक्टर क्षेत्रमा अतिक्रमण भएको छ । यता चालु आर्थिक वर्षको पुस मसान्तसम्म कार्यालयले कुल बजेटको २० दशमलव ७५ प्रतिशत मात्र खर्च गर्न सकेको जनाएको छ ।

यस्तै कार्यक्रममा जिल्लामा बँदेल र बाँदरको आतङ्कका कारण किसान विस्थापित हुने अवस्था आएको भन्दै वन ऐन संशोधन गरी वन्यजन्तु नियन्त्रणलाई सहज बनाउनुपर्ने माग पनि उठाइएको छ । बँदेलको आक्रमणबाट ज्यान गुमाएकालाई १० लाख रुपैयाँ क्षतिपूर्तिको व्यवस्था रहेको र प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार
प्रतिक्रिया