२०८३ साउन १३ , बुधबार

दैलेखमा माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने



दैलेख । दैलेखमा क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस एचपिभी विरुद्धको खोप अभियान सुरु गरिने भएको छ । जिल्लामा माघ २५ गतेदेखि फागुन २ गतेसम्म ह्युमन प्यापिलोमा भाइरस ‘एचपिभी’ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार जिल्लाका ११ स्थानीय तहका तीन हजार ४ सय ८२ जना किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बनाउने ‘एचपिभी’ भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीका अनुसार विद्यालय जाने ६ देखि १० कक्षासम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका जिल्लाभरका तीन हजार ४ सय ८४ किशोरीलाई खोप अभियानमा समावेश गर्ने बताउनुभयो ।

यहाँको नौमूले गाउँपालिकामा तीन सय २८, महाबुका दुई सय १६, भैरवीका दुई सय ५२, नारायणका तीन सय ४०, भगवतिमाईका दुई सय ४०, डुङ्गेश्वरका एक सय ६४ गुराँसका दुई सय १९, ठाटिकाँधका दुई सय ४५, आठबीसका चार सय ९, चामुण्डाका तीन सय ८४ र दुल्लु नगरपालिकाका छ सय ८५ गरी तीन हजार चार सय ८२ जना ‘एचपिभी’ खोप लगाइने जना लक्षित समूह छन् ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक डा.मनोज विश्वकर्माका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक ‘एचपिभी’ भाइरस हो । उहाँले खोप अभियान सञ्चालनको अवधिमा आवश्यक सहजीकरणका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपिभी खोप प्रभावकारी भएकाले अभियानलाई सफल बनाउन ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गर्नुभयो ।

‘एचपिभी’ भाइरसको दुई सयभन्दा बढी किसिमका प्रजाति हुन्छन् र तीमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । नेपालमा १६ र १८ प्रजाति ८० प्रतिशतले पाठेघरको मुखको क्यान्सर बनाउने अध्ययनले देखाएको छ ।‘एचपिभी’ विरुद्धको खोपले १६ र १८ प्रजातिबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने डा। विश्वकर्माको दाबी छ । विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त हुनुका साथै औषधी व्यवस्था विभागले समेत स्वीकृत गरेको हुँदा ‘एचपिभी’ खोप सुरक्षित र प्रभावकारी रहेको उहाँले बताउनुभयो । यसको प्रभावकारिता शतप्रतिशत रहेको विभिन्न अध्ययनले देखाएको छ ।

‘एचपिभी’ खोपले महिनावारीमा कुनै असर नगर्ने जनाइएको छ । डा. विश्वकर्मा भन्नुहुन्छ, ‘किशोरीको महिनावारी नियमित प्राकृतिक प्रक्रिया हो । ‘एचपिभी’ खोप लगाउँदैमा महिनावारी छिटो वा ढिलो हुने हुँदैन ।’, साथै ‘एचपिभी’ खोप र बाँझोपनबिच कुनै सम्बन्ध नरहेकाले ढुक्क भएर खोप लगाउन निमित्त स्वास्थ्य व्यवस्थापक डा। विश्वकर्माको सुझाव छ । ‘एचपिभी’ खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ ।

अभियानलाई प्रभावकारी बनाउन प्रचारप्रसारमा जोड दिन जिल्ला समन्वय दैलेखका प्रमुख नमराज शाहीले बताउनुभयो।उहाँले ‘यो खोप जीवन र भविष्यसँग जोडिएको छ,’ उनले भने, ‘यो खोप अभियानलाई सफल बनाउन सबै खटिनुपर्छ सम्पूर्ण युनिटहरुले खोप अभियानमा सफल बनाउनुपर्ने जोड दिनुभयो ।
दैलेखमा लक्षित समूहमध्ये दुई सय ९८ जना किशोरी विद्यालय बाहिर रहेका स्वास्थ्य सेवा कार्यालय दैलेखको विवरणमा छ ।जिल्लामा एक सय ९३ खोप केन्द्रबाट लक्षित समूहलाई ‘एचपिभी’ खोप प्रदान गरिने छ ।

प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रबार
प्रतिक्रिया