मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार भएको खेलमा जितका लागि एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८० रन मात्र बनाउन सक्यो ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४४ रन बनाउनुभयो । उहाँले ३४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै कप्तान रोहित पौडेलले ३९ रन बनाउनुभयो । उहाँले ३४ बलमा दुई चौका र दुई छक्का हान्नुभयो ।
ओपनर कुशल भुर्तेलले २९, आशिफ शेखले सात, आरिफ शेखले १०, लोकेश बमले अविजित ३९ रन बनाउनुभयो । उहाँले २० बलमा चार चौका दुई छक्का हान्नुभयो । गुल्शन झा एक रनमा आउट हुनुभयो । करण केसी एक रनमा अविजित रहनुभयो ।
बलिङमा इङ्ल्यान्डका लियम डसनले दुई तथा विल ज्याक्स, साम कुरन, जोफ्रा आर्चर र लुक उडले एक एक विकेट लिनुभयो । पहिलो जितसँगै ‘सी’ मा इङ्ल्यान्डले दुई अङ्क बनाएको छ । नेपालले हारबाट विश्वकप यात्रा सुरु गरेको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।







