
यामराज बिष्ट
दैलेख ।दैलेख जिल्लामा आगामी फागुन २१ का लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षाका लागि नेपाली सेना परिचालन भएको छ । निर्वाचनलाई लक्षित गरी सुरक्षा योजनाअनुसार नेपाली सेनाले यहाँका सडक तथा बजारमा गस्ती बढाएको हो ।
जिल्लामा निर्वाचनलाई स्वस्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन नेपाल सरकारले दिएको निर्देशन वमोजिम सेना परिचालन गरिएको कालिदत्त गुल्म, काँडाचौर ब्यारेक, दैलेखका सेनानी सवल जंग शाहले बताउनुभयो । उहाँले निर्वाचन लक्षित गरेर जिल्लामा दुल्लु ,ठाटिकाँध, काडाचौउर गरी ३वटा ठाँउमा छुट्टाछुट्टै वेश स्थापना गरी सुरक्षा निकाय परिचालन गरिएको बताउनुभयो । उहाँले दैलेखका दुई वटै निर्वाचन क्षेत्रका लागि फागुन ६गते देखि जिल्लाका ११वटा निर्वाचन सुरक्षा गुल्म स्थापना गरेर सेना परिचालन गरिने बताउनुभयो ।
निर्वाचनलाई निरीक्षण अनगुमनको क्रममा मतदान स्थलहरूमा हुने सुरक्षाको थ्रेटको वास्तिविक अवस्था र सुरक्षाको मजबुत प्रबन्ध मिलाएर शान्तिपूर्ण र भयरहित वातवरणमा चुनाव सम्पन्न गराउने योजना सहित खटिएको सेनानी शाहको भनाई छ ।
त्यस्तै निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठी बताउनुभयो । उहाँले जिल्लामा शान्ति–सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना लागू गरिएको उहाँको भनाइ छ ।
दैलेख जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ । दैलेखबाट १ लाख ६१ हजार २ सय ४ जना मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले बताउनुभयो । उहाँले आगमी निर्वाचनको लागी अन्तिम नामावली अनुसार दैलेखमा ८१ हजार ९९ पुरुष र ८० हजार १ सय ५ महिला मतदाता समावेश भएको बताउनुभयो ।
आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैलेख जिल्लाभर १ सय ३९ मतदान स्थल र २ सय ८ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी सलामीले बताउनुभयो ।
दैलेख जिल्लामा २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदय निर्वाचनमा पुरुष ७९ हजार ५ सय २० र महिला ७९ हजार ४ सय ३८ गरी कुल दैलेखमा कुल मतदाताको संख्या एक लाख ५८ हजार ९ सय ५८ रहेको थियो ।एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाली सेना तेस्रो सुरक्षा घेरा मा रहनेछ ।







