सल्यान। सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर, ३ बडाचौर जङ्गल नजिक एक व्यक्तिमाथि बाघले आक्रमण गर्ने प्रयास गरेको छ । बाघको आक्रमणबाट ज्यान जोगाउन सल्लाको रुखमा चढेका स्थानीय नारायण खत्रीलाई करिब साढे दुई घणपछि स्थानीयको सक्रियतामा सकुशल उद्धार गरिएको हो ।
छत्रेश्वरी, ३ कोर्वाङ निवासी खत्री दाङबाट त्रिवेणीको सिम्क क्षेत्र हुँदै पैदल आफ्नै घरतर्फ फर्किंदै हुनुहुन्थ्यो । बिहीबार बिहान करिब ११ः५४ बजे उहाँले घरमा फोन गरेर आफूलाई बाघले आक्रमण गर्न खोजेको र रुखमा चढेर जोगिएको जानकारी गराउनुभएको थियो ।
खत्रीका अनुसार सुरुमा जङ्गलतर्फबाट बाघ कराएको आवाज सुनिएको थियो । केहीबेरपछि नजिकै बाघ देखिएपछि आफूले ढुङ्गाले हान्न खोज्दा बाघ आक्रामक बनेको र आक्रमण गर्न खोजेपछि तत्कालै नजिकैको सल्लाको रुखमा चढेर ज्यान जोगाउन सफल भएको उहाँले बताउनुभयो ।
घरपरिवारबाट खबर पाएलगत्तै स्थानीय बासिन्दा घटनास्थलतर्फ पुगेका थिए । खड्गदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक तथा स्थानीय बासिन्दा केशव केसीका अनुसार १०–१५ जनाको टोली जङ्गलमा पुग्दा खत्री त्रसित अवस्थामा रुखमै हुनुहुन्थ्यो । “हामीले ठुलो स्वरमा होहल्ला गर्यौं, बाघ पनि देख्यौं, ढुङ्गाले हानेर बाघलाई धपायौं । त्यसपछि मात्रै नारायण खत्री सुरक्षित रूपमा रुखबाट तल झर्नुभयो,” केसीले भन्नुभयो । उद्धारपछि खत्री सामान्य अवस्थामा घर फर्किएको जनाइएको छ ।







