२०८३ जेठ २० , बुधबार

निर्वाचन प्रहरीले चहलपहल बढायो



दैलेख । फागुन२१ गते हुने प्रतिनिधिसभा चुनावका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको चलपहलले गर्दा दैलेख सदरमुकाममा चहलपहल बढेको छ । चुनावका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको चलपहल संगै मुख्य व्यापारिक क्षेत्रहरुमा चुनावी चहलपहल बढेसँगै होटल व्यवसायी देखि सामान खरिद गर्ने उपभोक्ताहरुको चहल पहल बढ्न थालेको हो।
केही महिनाअघिसम्म सुनसान जस्तै देखिने दैलेख सदरमुकाम अहिले राजनीतिक भेटघाट, रणनीति बैठक र चुनावी कार्यक्रमले भरिन थालेका छन् ।

दैलेख बजारदेखि ग्रामीण क्षेत्र सम्मका होटल, निर्वाचन प्रचारप्रसारदेखि मत पत्रको छपाइ, माइक तथा साउन्ड सिस्टम, पेट्रोलिय पदार्थ, होटल, रेस्टुरेन्ट, सवारी साधन लगायतको कारोबार ह्वात्तै बढेको छ ।
राजनीतिक दल र तिनका उम्मेदवारका साथै कार्यकर्ताको सघन उपस्थितिले आगामी एक महिनासम्म ग्राहकको अभाव नहुने शिभशिक्ती होटलका संञ्चालक लछुमण न्यौपानले बताउनुभयो ।उहाँले आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पहिले भन्दा अहिले होटेल, फेन्सी पसल, रेस्टुरेन्टमा चहलपहल बढेको बताउनुभयो । उहाँले जिल्लामा निर्वाचन प्रहरीले मासिक तलब, राशन, पोशाक र दैनिक केही रकम खाजा खचर्मा हुने भएकाले त्यसले गर्दा पनि आर्थिक गतिविधि बढाएकोे बताउनुभयो ।

दैलेख चुनावी माहोल सुरु भए सँगै बजार चहलपहल बढेको दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र थापाले बताउनुभयो । उहाँले चुनाबको बेला केही रकम उम्मेदवारले खर्च गर्ने हुँदा यसले बजार व्यवसायलाई चलायमान बनाउने बताउनुभयो।
दुईवटा निर्वाचन क्षेत्र रहेको दैलेख जिल्लामा ठुलादेखि साना राजीतिक दलले निर्बाचन परिणाम आफ्नो पोल्टामा पार्न प्रचार प्रसारको गतिविधि पछिल्लो समयममा बढाउँदै गएका छन् । जिल्लामा २१ जना उम्मेदवार चुनाबी प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : २०८२ फागुन ४ गते सोमबार
प्रतिक्रिया