काठमाण्डौ – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा पुगेको छ । श्रीलङ्काको कोलम्बोमा आज भएको समूह ‘ए’ को खेलमा पाकिस्तानले नामिबियालाई १०२ रनले हरायो ।
पाकिस्तानले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबियाले १७ ओभर ३ बलमा ९७ रन बनाउँदा सबै विकेट गुमायो । नामिबियाका लोरेन स्टीनक्याम्पले सबैभन्दा धेरै २३ रन बनाए । पाकिस्तानका उसमान तारिकले ४, शदाब खानले ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनायो । पाकिस्तानका साहिबजादा फरहानले शतक बनाए । फरहानले ५८ बलमा नटआउट १०० रन जोडे । नामिबियाका ज्याक ब्रासेलले २ विकेट लिए ।
फरहान प्रतियोगितामा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि क्यानडाका युवराज सम्रा र श्रीलङ्काका पथुम निसान्काले शतक बनाएका थिए ।
योसँगै ‘सुपर–एट’ समीकरण पूरा भएको छ । यसअघि समूह ‘ए’ भारत ‘सुपर–एट’ मा पुगेको थियो । यस्तै समूह ‘बी’ बाट श्रीलङ्का र जिम्बावे, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्ग्ल्यान्ड तथा समूह ‘डी’ दक्षिण अफ्रिका र न्युजिल्यान्ड ‘सुपर–एट’ मा पुगेका छन् ।
‘सुपर–एट’ का खेलहरू आउँदो शनिवारदेखि शुरू हुनेछन् ।







