२०८३ जेठ २० , बुधबार

फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान



 

यामराज बिष्ट
दैलेख। दैलेखमा यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मा नमुना मतदान गरिएको छ । कालिदत्त गुल्म, जिल्ला प्रहरी कार्यालय दैलेख, जिल्ला निर्वाचन कार्यालय दैलेख र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दैलेखको नारायण नगरपालिका– ६स्थित काँडाचौरमा नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो ।
जिल्लामा मतदान केन्द्रको सुरक्षा व्यवस्था आइपर्न सक्ने सम्भावित जोखिम, अन्य सुरक्षा निकायसँगको समन्वयमा गर्ने कार्य लगायतका विषयमा व्यवहारिक अभ्यास गराइएको जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले बताउनुभयो ।उहाँले मतदानका क्रममा हुन सक्ने सम्भावित विवाद, मतपत्र च्यातिने वा बिग्रिने अवस्था, मतदाताको पहिचानसम्बन्धी जिज्ञासा, लाइन व्यवस्थापन डेमो प्रस्तुत गरिएको बताउनुभयो । नमुना मतदानमा नागरिकहरूलाई मतदानमा कसरी सहयोग गर्ने , अपाङता भएका व्यक्तिहरू, मतदानका समयमा विवाद आए कसरी समाधान गर्ने आदि कुराहरूको अभ्यास गराइएको निर्वाचन अधिकारी सलामीको भनाई छ ।


कार्यक्रममा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी दुई छुट्टाछुट्टै मतपत्रमा छाप लगाउने तरिका सिकाइएको थियो ।नमुना मतदान कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले मतदान केन्द्रको सुरक्षा सतर्कता, शान्ति सुव्यवस्था अमनचयन कायम गर्ने उपाय र आकस्मिक अवस्थाको व्यवस्थापन सम्बन्धी अभ्यास गराइएको थियो ।
दैलेख जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर२सय१०जना मतदान अधिकृत २सय १० जना नै सहायक मतदान अधिकृत खटाइने तयारी छ ।दैलेख निर्वाचन क्षेत्र नं १ मा ७३ स्थानमा १०६ मतदान केन्द्र निर्वाचन क्षेत्र नं २ मा ६६ मतदान स्थलमा १०४ मतदान केन्द्र रहेको छ ।
यही फागुन २१हुने निर्वाचन सुरक्षाका लागि मतदान स्थलको पहिलो घेरा र मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी खटिनेछन् भने बाहिरी घेरामा आवश्यकताका आधारमा सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने सुरक्षा निकायले जनाएको छ ।नमुना मतदानमा कार्यक्रममा नागरिक समाज, कर्मचारी, पत्रकारलगायत सहभागी थिए  ।

प्रकाशित मिति : २०८२ फागुन ९ गते शनिबार
प्रतिक्रिया